जवाफदेहिता निगरानी समितिको संयोजकमा संवैधानिक तथा मानव अधिकार कानुनको क्षेत्रमा क्रियाशील अधिवक्ता राजुप्रसाद चापागाईं चयन भएका छन् । समितिको शुक्रबार बसेको बैठकले निगरानी समितिको संयोजकमा अधिवक्ता चापागाईं र सहसंयोजकमा मानवअधिकारकर्मी तथा सञ्चारकर्मी राजन कुइँकेल र अधिवक्ता रुक्मिणी महर्जनलाई चयन गरेको हो ।
द्वन्द्वोत्तर अवस्थामा सङ्क्रमणकालीन न्याय, कानुनी शासन र मानव अधिकारको प्रवर्द्धनका लागि हस्तक्षेपकारी भूमिका खेल्दै आएको उक्त समितिले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिवक्ता चापागाईं संवैधानिक कानुन व्यवसायी मञ्चको पूर्वअध्यक्ष र जुरी–नेपालका संस्थापक अध्यक्ष हुन् । मानव अधिकारकर्मी तथा पत्रकार कुईंकेल एम्नेस्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष हुनुहुन्छ भने अधिवक्ता महर्जन त्रिभूवन विश्वविधालयमा कानुन सङ्कायमा उपप्राध्यापक हुन् ।
निगरानी समितिको शुक्रबारको वैठक पूर्व अध्यक्ष वरिष्ठ मानवअधिकारकर्मी चरण प्रसाईको अध्यक्षतामा बसेको थियो । वैठकले देशमा पेचिलो बन्दै गएको दण्डहीनता, कुशासन र जवाफदेहिविहीनताको अवस्थालाई मध्यनजर राख्दै निगरानी समितिको हस्तक्षेपकारी भूमिकालाई आगामी दिनमा अझै प्रभावकारी बनाएर लानु पर्ने ठहर गरेको छ ।
















