प्रदर्शनमा घाइते भएका राप्रपा नेता डाँगीको मृत्यु

राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डॅागीको उपचारका क्रममा निधन भएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाको चैत २७ गतेको प्रदर्शनका क्रममा घाइते भएका उनको उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको हो ।

चैत २७ गते राप्रपाले संवैधानिक राजतन्त्रका पुनर्स्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राजधानीको भद्रकालीमा प्रदर्शन गरेको थियो ।
प्रदर्शनको क्रममा प्रहरीले हानेको अश्रुग्यास प्रहारबाट घाइते उनको टाउकोमा समस्या देखिएको थियो । प्रवक्ता श्रेष्ठका अनुसार उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उनको टाउको र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

डॅागीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मध्याह्न १२ बजेदेखि राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया नै लगिने जनाइएको छ ।