भारतमा आजबाट लोकसभा निर्वाचन सुरु

भारतमा पहिलो चरणको लोकसभा चुनाव सुरु भएको छ । अरूणाञ्चल, असम, बिहार, छत्तिसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अन्डमान निकोबार, जम्मू कस्मिर, लक्षद्विप, पुद्दुचेरीका विभिन्न १२० सिटमा आज मतदान सुरु भएको हो ।

विभिन्न २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा मतदान हुनेछ । यस चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात सदस्य र तीन पूर्व मुख्यमन्त्री तथा एक पूर्व राज्यपाल चुनावी भिडन्तमा रहेका छन् ।

मतदानका लागि केही राज्यहरूको सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ । छत्तीसगढमा माओवादीले चुनाव बहिस्कार गरेको छ। त्यहाँ केहीदिनसम्म प्रहरी र माओवादीबीच मुठभेड भएको थियो ।

दोस्रो चरणको मतदान अप्रिल २६ मा हुनेछ । १३ राज्यका ८९ सिटमा दोस्रो चरणमा मतदान हुनेछ । तेस्रो चरणको मतदान १२ राज्यका विभिन्न ९४ सिटमा हुनेछ । ती सिटहरूमा मे ७ तारिखका दिन मतदान हुने बताइएको छ । त्यस्तै, चौथो चरणमा १० राज्यका विभिन्न ९६ सिटमा निर्वाचन हुनेछ । बीबीसीका अनुसार ती सिटहरूमा मे १३ तारिखका दिन मतदान हुने छ ।

पाँचौ चरणमा ८ राज्यका ४९ सिट, छैटौं चरणमा ७ राज्यका विभिन्न ५७ वटा सिट र सातौं चरणमा विभिन्न ८ राज्यका ५७ सिटका लागि निर्वाचन हुनेछ । पाचौं चरणको निर्वाचन अन्तर्गत मे २० मा, छैटौं चरणको मे २५ मा र सातौं चरणको १ जुनमा मतदान हुने छ । सबै चरणको मतदान सकिएपछि मात्रै मतगणना सुरू गरिने बताइएको छ ।

सातौं चरणको मतदान १ जुनमा सकिने हुँदा मतगणना ४ जुनबाट सुरू हुने बताइएको छ । भारतमा ९६.८ करोड मतदाता छन् । तीमध्ये ४७.१ करोड महिला र ४९.७ करोड पुरूष मतदाता रहेको बिबिसीले उल्लेख गरेको छ । ८५ वर्षमाथिका व्यक्तिहरूलाई घरबाटै मतदान गर्न मिल्ने व्यवस्थासमेत गरिएको छ । सन् २०१९ मा निर्वाचित लोकसभा सदस्यहरूको पदावधि आगामी जुन १६ देखि सकिँदैछ ।