हमासको कब्जामा रहेका विपिन सकुशल फर्कने आशामा परिवारद्वारा प्रधानमन्त्रीसँग भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् ।

भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यसको निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरेका छन् ।

प्यालेस्टाइनको अतिवादी समूह हमास र इसराइलबीच ‍गाजामा भएको युद्धबीच हमासको नियन्त्रणमा रहेका विपिन अझै अज्ञात छन् । हमासको कब्जामा रहेका विपिनको अवस्था थाहा नपाउँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ स्थित महानन्द जोशी(विपिनका बुबा) र पद्मा जोशी (विपिनकी आमा) व्याकुल छन् । उनको परिवारमा छोरा सकुशल फर्कने आशा छ । सम्बन्धित व्यक्ति, निकाय आदि पहुँचवालाहरुसँग उनीहरुले अझै पनि छोराको रिहाईका लागि आशा गरिराखेका छन् । सोही आशामा पछिल्लो समय पुन:प्रधानमन्त्री दाहालसँग भेटघाट गरेका छन् ।