बैशाख १५ गते इलाम जिल्लाभर यातायात बन्द हुने

इलाम–२ को उपनिर्वाचनको दिन बैशाख १५ गते इलाम जिल्लाभर यातायात बन्द गरिने भएको छ । आज बिहीबार बसेको सर्वदलीय बैठकले मतदानका दिन मेची राजमार्गसहित जिल्लाभरिनै बिहान ५ देखि बेलुका ६ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो ।

बैठकले अत्यावश्यक र अनुमति प्राप्त सवारी बाहेकका सबै सवारी बन्द गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसहित बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मतदानका दिन शान्ति सुरक्षा कायम राख्न सहज हुने निष्कर्षसहित यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

मतदानका दिनलाई छिमेकी जिल्लाहरु झापा, पाँचथर, ताप्लेजुङ्ग र मोरङलगायत सबै जिल्लालाई जानकारी गराइएको र सबै जिल्ला जोडिने नाका पनि बन्द हुने प्रजिअ यादवले जानकारी दिए । सञ्चारकर्मीका लागि भने सञ्चार संस्थाको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सवारी पास उपलब्ध गराइने भएको छ ।

बैठकमा मतदानका दिन हिडडुल गर्न नसक्ने, गर्भवती महिला, आफ्नै साथमा बच्चा बोकी आएका महिला, किरिया पुत्री, शारीरिक रुपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म आउन र फर्कन सर्वपक्षीय र सर्वदलीय सहमतिमा मतदान अधिकृतबाट सवारी अनुमतिपत्र उपलब्ध गराउने निर्णय भएको छ ।