पूर्वसभासद आलमसहित चार जनालाई जन्मकैदको फैसला

जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले बिहिबार अफतावसहित निजका भाई महताव, बद्री सहनी र शेख सेराजलाई जन्मकैदको फैसला गरेको हो ।

उनीहरुलाई रौतहटको राजपुरफरदवा गाउँमा १७ वर्षअघि भएको बम विस्फोटनसम्बन्धी घटनामा संलग्न भएको आरोपमा जन्मकैद सजाय फैसला भएको हो । सोही घटनामा संलग्न भनिएका मुक्ति साहलाई भने सफाइ दिएको र फरार रहेका अन्य छ जनाको मुद्दा मुल्तबीमा राखिएको अदालतका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

गत सोमबारदेखि जारी बहसमा आजसम्म बादी पक्षबाट तीन जना सरकारी वकिल र प्रतिवादीका तर्फबाट नौ जना गरी १२ जनाले बहस गरेका थिए । बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा २०७६ कात्तिक १८ गते पूर्व सांसद आलमसहित ११ जनाविरूद्ध विस्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरफरदवामा बम विस्फोट भएको थियो ।