‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’ आयोजना

भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा मंगलबार काठमाडौंमा ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बिटुबी मिट’को आयोजना गरेको छ । कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य सङ्घको अध्यक्ष सृजना राणाले भारतीय र नेपाली व्यापारबीच सहकार्यका लागि जलविद्युत्, पर्यटन र कृषि सम्भावना बोकेको क्षेत्रको रुपमा रहेको बताइन् ।

मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री(एमआइसीसीआइए)का अध्यक्ष राजदूत अनिल त्रिगुनायतले पछिल्लो द्विपक्षीय कनेक्टिभिटी पहलको सराहना गर्दै भारत–नेपाल आर्थिक साझेदारीलाई अघि बढाउन बिटुबी कनेक्सनको महत्व रहेको जानकारी दिए । लगानी बोर्डका उपसचिव रमेश अधिकारीले भारतीय लगानीकर्तालाई नेपालमा व्यापार गर्न स्वागत गरे ।

काठमाडौंमा यही वैशाख १६ र १७ गते तेस्रो नेपाल लगानी सम्मेलन भएको थियो । ऊर्जा, कृषि, निर्माण, पर्यटन, कोल्ड चेन, मेडिकल उपकरण, वित्त, परामर्श र कानुन क्षेत्रलाई समेट्दै सो बैठकमा मिलेनियम इन्डिया इन्टरनेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री(एमआइसीसीआइए) र नेपाल–भारत उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरुको सहभागीता थियो ।

उक्त बिटुबी बैठकमा नेपाल–भारत उद्योग वाणिज्य सङ्घ र एमआइसीसीआइएबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो । नेपालमा लगानी गर्ने भारतीय लगानीकर्ताका लागि लगानी सम्मेलनको एकदिन अगाडि अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको तेस्रो संस्करणको पुस्तिकाको प्रतिलिपि भारतीय प्रतिनिधिलाई उपलब्ध गराइएको थियो ।