आजदेखि तामाङ र नेवारी भाषा सरकारी कामकाजमा लागू

बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा(नेवारी) पनि सरकारी कामकाजको भाषाका रुपमा लागू भएका छन् । आज सोमबार काठमाडौंमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गरिएको हो ।

प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्ने निर्णय गरेको अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाको रुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताए ।

प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णय बमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोमबार काठमाडौँ महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।