सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका काहालान्च घर भएका २८ वर्षीय पुरूषलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरबाट सोमबार पक्राउ परेका उनले नाबालिकाको तस्विरलाई अश्लिल तस्बिरमा अनुहार जोडर चरित्रहत्या गरेका थिए ।
नाबालिकाले फेसबुकमा पोष्ट गरेका तस्विरलाई अश्लिल तस्विरमा अनुहार जोडी अश्लिल गतिविधियुक्त कन्टेन्ट लेखेर फेक फेसबुक आईडीमा पोष्ट गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा निजी विद्यालयका शिक्षक खुल्न आएका ती पुरूषको संलग्नता पुष्टि भएपछि उनलाई पक्राउ गरेको हो ।
उनी उपर काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


















