गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने

६ जेठ, काठमाडौं । विपक्षी दलको आज बसेको बैठकले गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको संयुक्त बैठकले गृहमन्त्रीलाई बोल्न दिने निर्णय गरेको हो ।
गृहमन्त्रीले जवाफ दिइसकेपछि त्यसमा चित्त बुझे संसद कार्यसूचीमा अगाडि बढ्ने नभए प्रधानमन्त्रीले भोलि लिने विश्वासको मत समेत प्रभावित हुने नेपाली कांग्रेसका एक नेताले बताए ।सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् ।