सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बताए।
‘आज दिउँसो बैठक बोलाइएको छ,’ सांसद खनालले भने, ‘विषयमा कुराकानी त भइरहेको छ। तर कांग्रेस कसरी प्रस्तुत हुन्छ, त्यही आधारमा निष्कर्ष निस्कने, ननिस्कने टुंगो लाग्ला।’
प्रमुख प्रतिपक्षी दलले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले उनको नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ। कांग्रेसको यही मागमा सहमति नजुटेकाले कार्यादेश टुंग्याउने जिम्मा पाएको कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ। यसअघि बसेका तीनवटा बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आ—आफ्नो अडानमा रहेकाले निष्कर्षमा पुग्न सकेका थिएनन्।
बुधबार बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सहकारीहरूको बचत ठगी, अपचलन, हिनामिना र दुरुपयोग जाँचबुझ गर्न र गृहमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउन सडक संघर्ष गर्ने निर्णय गरिसकेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा नेकपा ९एमाले० का प्रमुख सचेतक महेश बर्तौला, कांग्रेस सांसद जीवन परियार र रास्वपा सांसद शिशिर खनाल सदस्य छन्। कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी हुँदै आएका छन्।


















