नेपाली कांग्रेसको रूपान्तरणको प्रक्रिया सुरु भएको गगन थापाको उद्घोष

 

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार पार्टी मुख्यालयमा सम्बोधन गर्दै नेपाली कांग्रेसको रूपान्तरणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको उद्घोष गरेका छन्।

उनले आफ्नो जितलाई व्यक्तिगत विजयभन्दा पनि परिवर्तनको पक्षमा उभिएका हजारौँ कार्यकर्ता र नागरिकको विश्वासको जितको रूपमा व्याख्या गरेका हुन्।

‘म कुनै विजयी भावले होइन, एक ठुलो जिम्मेवारीको बोधले यहाँ उभिएको छु,’ थापाले भने, ‘यो मेरो व्यक्तिगत विजय होइन, यो परिवर्तनप्रतिको विश्वासको विजय हो। यो नेपाललाई नयाँ दिशा दिन चाहने हरेक नागरिकको विजय हो।’

उनले आफ्नो जितलाई पार्टीको आन्तरिक लोकतन्त्रको जित र नयाँ पुस्ताको उदयको सङ्केतको रूपमा पनि अर्थ्याए। सम्बोधनका क्रममा थापाले नेपाली कांग्रेसको गौरवशाली इतिहासको स्मरण गर्दै पार्टीले अब इतिहासको ब्याज मात्र खाएर बस्न नहुने कुरामा जोड दिए।

‘हामीले हाम्रो इतिहासबाट सिक्नुपर्छ, तर हामी त्यसमा मात्र सीमित हुन सक्दैनौँ,’ उनले भने, ‘हामीले नयाँ इतिहास रच्ने समय आएको छ। हामीले कांग्रेसलाई २१ औँ शताब्दीको आवश्यकता र आकाङ्क्षा अनुरूप ढाल्नुपर्छ।’

थापाले आफ्नो कार्ययोजनाको खाका प्रस्तुत गर्दै पार्टीलाई थप समावेशी, पारदर्शी र जबाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले पार्टीको संगठनलाई तल्लो तहसम्म सुदृढ गर्ने, युवा र महिलाको सहभागिता बढाउने, र पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने कुरामा जोड दिए।