सरकारको नीति तथा कार्यक्रम पारित

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए । नीति तथा कार्यक्रम पनि कांग्रेसलाई पेलेरै सरकारले पारित गरेको हो । सत्ता पक्षले आइतबार नीति तथा कार्यक्रम पारित गरेपछि अब यही बुधबार बजेट ल्याउँदैछ ।

नीति तथा कार्यक्रम माथिको छलफलमा सत्ता पक्षका नेता, अर्थमन्त्री वर्षमान पुन तथा प्रतिपक्षी नेता प्रेम सुवाल र चित्रबहादुर केसीले मात्र भाग लिए ।आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍मा दुई महिनादेखिको अवरोध आजै बेलुका वा भोलिसम्ममा अन्त्य हुने बताएका छन् । तर उनले त्यसो भने पनि कांग्रेसको नाराबाजीबीच नीति तथा कार्यक्रम पारित भएको छ ।

आइतबार आगामी वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै संसद्‍मा रहेको अवरोधबारे प्रतिपक्षीसँग निरन्तर छलफल भइरहेकाले निष्कर्ष निस्किन लागेको दाहाले बताए । सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरिरहेको छ । सत्ता पक्ष कांग्रेसलाई पेलेरै जाने नीतिमा हिँडेपछि अब बजेट पनि विरोधबीच आउने अनुमान गरिएको छ ।