नगरपालिकाका अधिकृत चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा शहिदनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । विद्यालयको पर्खाल निर्माणकार्य सम्पन्नपश्चात् भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ बराबरको घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो ।

यस्तै, आयोगको टोलीले एक लाख ७५ हजार रुपैयाँ बराबरको चेकसमेत नियन्त्रणमा लिएको थियो । आयोगले प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी, प्रतिवादी रमेशप्रसाद चौधरी र गुरुदेव यादवविरुद्ध समान दुई लाख ७५ हजार रुपैयाँ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।