सडक डिभिजन कार्यालयले काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि भन्दै न्यूरोडमा काटिएको सडक टालेको छ । आज सोमबार बिहानै सडक डिभिजन कार्यालयले न्यूरोडमा काटिएको सडकको भाग टालेको हो ।
सडक डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी प्रमोद खतिवडाले काटेको सडक टालिदिन महानगरलाई पत्र काटेपनि बेवास्ता गरेपछि आफैले टालेको बताएका छन् । उनले भने, ‘काटेको सडक टाल्नका लागि पत्र पठाएपछि महानगरपालिका सम्बद्ध व्यक्तिहरू अनौपचारिक छलफलमा आउनुभएको थियो । उहाँहरूले अरू कुरामा समन्वय गरेर जाने तर फुटपाथ विस्तारका लागि न्यूरोडमा काटिसकेको सडक टाल्न सक्दैनौं भन्नुभयो ।’
यसअघि सडक डिभिजन कार्यालयले काटिसकेको सडक दुई दिनभित्र नटाले कारबाही गर्ने चेतावनी समेत दिएको थियो । उनले भने, ‘कारबाही हुन्छ । पहिले त्यहाँ काटिएको सडकका कारण मानिसहरूले सास्ती खेप्न नपरोस् भनेर सडक टाल्ने काम अघि बढाएका छौं ।’
सडक डिभिजनले सडक टाल्न थालेपछि महानगरप्रमुख बालेन शाहले उक्त कदमको सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् भने उता महानगरले काटेको सडक आजै टालेर भ्याइने सूचना अधिकारी खतिवडाले बताएका छन् ।


















