वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा ज्यान गुमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका-८ धितुङका ३० वर्षीय दीपक बुढाथोकीको परिवारलाई सात लाख ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ । उनको २०८० चैत ७ गते दुबईमा सडक दुर्घटनामा निधन भएको थियो ।
मृतकका दुई छोरा नौ वर्षीय दिशन र छ महिनाका इशान बुढाथोकीको पठनपाठनका लागि उनीहरूको नाममा छुट्टाछुट्टै बैंक खाता खोलेर जम्मा गर्ने गरी तीन-तीन लाख रुपैयाँ तथा घरखर्चका लागि बुबा जीतबहादुर, आमा रत्नकुमारी र श्रीमती सरस्वती बुढाथोकीलाई नगद ५०-५० हजार रुपैयाँ उपलब्ध गराइएको जनाइएको छ ।
धितुङका स्थानीय बासिन्दा एवं नायबसुब्बा पदमा कार्यरत गणेशबहादुर कार्कीको संयोजनमा देश-विदेशमा रहेका नेपालीबाट सङ्कलित रकम सोमबार सांसद रामकुमार राई ‘पासाङ’ले मृतकका परिवारलाई हस्तान्तरण गरेका हुन् ।


















