तनहुँ जिल्लाको घिरिङ गाउँपालिका-४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुर खेती थालिएको छ । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुर खेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो ।
यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिए । उनका अनुसार स्वीट्जरल्याण्डबाट प्रति बिरुवा सात सयदेखि एक हजार रुपैयाँसम्म खरिद गरी ल्याइएको थियो । उनले भने, ‘पहिलो वर्षमै राम्रो उत्पादन भयो, यो वर्ष उत्पादन बढ्ने विश्वास छ ।’
अङ्गुरखेतीका लागि एक करोड ५० लाख रुपैयाँ लगानी भएको छ । यहाँ उत्पादित अङ्गुर धादिङमा पठाउने गरिएको छ । धादिङको थाँक्रे गाउँपालिका–१० जुङेखोला केवलपुरमा विगत १५ वर्षदेखि तीन सय रोपनी क्षेत्रफलमा ३० हजार बिरुवा लगाएर व्यावसायिक अङ्गुरखेती गरी वाइन उत्पादन हुँदै आएको कार्कीले बताए । कम्पनीले धादिङमा ३८ करोड ५० लाख रुपैयाँको लागतमा अङ्गुरखेतीसँगै ‘वाइन’उत्पादन गर्दै आएको हो ।
कार्कीले भने, ‘कम्पनीसँग हाल वार्षिक तीन लाख लिटर वाइन उत्पादन गर्ने क्षमता छ ।’ फार्ममा ३२ प्रजातिका अङ्गुर खेती गरिए पनि आठदेखि १० प्रजातिका अङ्गुरबाट मात्र मनग्य उत्पादन भएको उनले जानकारी दिए ।


















