विद्यार्थी सङ्ख्या कम भएपछि १७ विद्यालय समायोजन

कालीकोटको नरहरिनाथ गाउँपालिकाले १७ वटा विद्यालय समायोजन गरेको छ । विद्यालयमा विद्यार्थीको सङ्ख्या कम भएका विद्यालयलाई नजिकैको अर्को विद्यालयमा समायोजन गरेको हो ।

२०७४ सालदेखि स्थानीय सरकारले सुरु गरेको विद्यालय समायोजन हाल आएर कार्यान्वयन भएको हो । गाउँ शिक्षा समितिको जेठ १७ गतेको निर्णय र गाउँ कार्यपालिकाको १८ गतेको निर्णयअनुसार १७ विद्यालय नजिकैको अर्को विद्यालयमा समायोजन गरिएको युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख दुर्गलाल न्यौपानेले बताए । उनले भने, ‘तीन वटा बालविकास केन्द्रसहित १७ विद्यालय समायोजन गर्ने निर्णय भएको थियो । ११ विद्यालयको हकमा बालविकास केन्द्र मात्र राखेर अरु कक्षा समायोजन गरिएको छ ।’

तीन वटा बालविकास केन्द्र नजिकको विद्यालयमा समायोजन गरिएको र कक्षा आठ सम्म सञ्चालन भएका तीन वटा विद्यालय कक्षा छ देखि आठ सम्म समायोजन गरिएको र बाँकी पाँच कक्षामुनिकालाई  यथावत राखिएको न्यौपानेले जानकारी दिए । उनले भने, ‘विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालय तथा कक्षाकोठा समायोजन गर्नुपरेको हो । गाउँपालिकाका(१ देखि ९ सम्मकै विद्यालय समायोजन गरिएको छ ।’

लामो समयको छलफलपछि विद्यालय समायोजनको योजना कार्यान्वयनमा आएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए । उनले भने, ‘सरकारी विद्यालयमा पढ्ने विद्यार्थी विस्तारै संस्थागत विद्यालय पढ्नका लागि सहर जान थालेपछि सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्या घटिरहेको छ । विद्यालयमा विद्यार्थी सङ्ख्या घटेका कारण विद्यालयका साथै कक्षाकोठा समायोजन गर्नु परेको हो ।’

विद्यालय र कक्षाकोठा समायोजन भए पनि शिक्षकको दरबन्दी यथावत रहने र समायोजन भएकै विद्यालयमा सरुवा हुने व्यवस्था मिलाएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं.९ का वडाध्यक्ष प्रदीप बोहोराले बताए ।