भारतमा सत्तारुढ भारतीय जनता पार्टीले लोकसभामा एकल बहुमत गुमायो । ५४३ सदस्यीय लोकसभामा भाजपाले २४० सिट मात्रै जित्यो, जुन एकल बहुमत भन्दा ३२ सिट कम हो । अघिल्ला दुई वटै चुनावमा एकल बहुमतसहित सरकार बनाएको भाजपा यस पटक सरकार बनाउन गठबन्धन दलहरुमा भर पर्नुपर्ने भयो । भाजपाले एकल बहुमत गुमाउनु विश्वभरका कथित सेकुलरहरु (खाशमा सनातन हिन्दू विरोधी)का लागि भने हर्ष बढाईं भएको छ । उनीहरु यसरी हर्षोन्माद देखिएका छन् कि मानौं भाजपा पार्टी नै विघटन भईसक्यो ।
विश्वभरका सेकुलरहरुको खुशी कुन हदसम्म छ भन्ने नेपालका कथित सेकुलरहरुका एकाध उन्मादबाट प्रष्ट हुन्छ । भाजपाले बहुमत गुमाएको खबर आएको भोलिपल्ट नेपालका केही अनलाइन र दैनिकहरु (१२ भाइ)मा विजयोत्सवको शैलीमा लेखहरु घण्टैपिच्छे फरक फरक शिर्षकमा आइरहे । भाजपा, प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाका अन्य नेताहरुको श्राद्ध गर्दै लेख्नेहरु तिनै पात्रहरु हुन् जो नेपालमा विगत डेढ दशकदेखि विदेशीका एजेण्डा स्थापित गराउन दिनरात लागेका छन् । उनीहरु तिनै ब्यक्तिहरु हुन जो १२ बूँदे दिल्ली सम्झौता, संविधानसभा, संघीय गणतन्त्र र धर्म निरपेक्षताको वकालत गरेर थाकेका छैनन् । उनीहरु तिनै ब्यक्तिहरु हुन जो विदेशी दूतावास र इशाई मिसनरीबाट दानापानी लिएर नेपालमा मिडिया चलाउँछन् र नागरिक समाजको आवरणमा नेपाली ईतिहासको अपब्याख्या गरेर जिविकोपार्जन गर्छन ।
नेपालका भतुवाहरुसम्म त यो तहको लगानी छ भने भारतभित्रै कुन कति लगानी भएको होला भन्ने कल्पना पनि गर्न सकिंदैन । भाजपाको मुखपत्र “पाञ्चजन्य” चुनावी परिणामपछि चुनाव प्रभावित पार्न विश्वब्यापी रुपमा ठूलो पैसाको चलखेल भएको खबर दियो । त्यसमा अमेरिकी धनाढ्य जर्ज सोरसको ओपन सोसाइटी नामको फण्डबाट करोडौं डलर खर्च गरिएको र त्यो पैसा विशेषतः सामाजिक सञ्जाल, युट्युब, पत्रपत्रिका र अनलाइनहरुमा गएको केही तथ्यहरु सार्वजनिक गर्यो ।
हो, भाजपाले एकल बहुमत गुमाएको सत्य हो । तर कथित सेकुलरहरुले हर्ष बढाईं नै गर्ने गरी भाजपा सकिएको भने होइन । भारतको यो चुनावमा विश्वभरका सेकुलरहरु “अभि नहीं तो कभि नहिं” को शैलीमा एकजूट थिए । भाजपालाई रोक्न उनीहरुले भारतको सवैभन्दा संगठित मतदाता मुसलमानलाई सवैभन्दा बढी प्रयोग गरे ।
प्रधानमन्त्री मोदीको सरकारले दोस्रो कार्यकालमा भोटको तुष्टिकरणका लागि यस अघिका सरकारहरुले बोल्न समेत आँट नगर्ने कामहरु गर्यो । विश्वभरका मुश्लिमहरुले प्यालेस्टानइनपछि बोक्ने गरेको कश्मिरको मुद्दालाई मोदी सरकारले सदाका लागि निम्ट्याईदियो । कश्मिरलाई भारतीय संविधान अन्तर्गत समेट्नु चानचुने कुरा थिएन । त्यसबाट विश्वभरका मुश्लिम चिढिएका थिए र उनीहरु बदलाको प्रतीक्षामा थिए । त्यस्तै, तीन तलाक खारेज गरेर समान वैवाहिक कानुन लागू गर्नु तथा गैर मुश्लिम शरणार्थीहरुलाई मात्रै नागरिकता दिने नागरिकता कानुन लागू गर्नु पनि उस्तै झड्का थिए मुश्लिमका लागि । त्यसैले उनीहरु बदलाका लागि मौन रुपमा प्रतिक्षामा थिए ।
भाजपाको मुखपत्र पाञ्चजन्यले उत्तर प्रदेशको रामपुर नाम गरेका एउटा गाउँको वुथमा भएको मतदानको एउटा उदाहरण प्रस्तुत गरेको थियो, मुश्लिम मतदाताको रुझान देखाउन । २३२२ मतदाता रहेको रामपुर जहाँ शत प्रतिशत मुश्लिम मतदाता थिए, सो बुथमा एक भोट पनि भाजपालाई परेन । जबकी सो गाउँमा प्रधानमन्त्री आवास योजना अन्तर्गत ५१२ वटा घर बनाएर हस्तान्तरण गरिएको रहेछ । यसले के देखाउँछ भने प्रधानमन्त्री मोदीले भने जस्तो “सबका साथ, सबका विकास” को नाराबाट भड्काएर भाजपा सरकार मुश्लिम विरोधी हो भन्ने कथ्यमा मुश्लिम मतदातालाई एकजूट गराइएको थियो ।
भाजपाले बहुमत गुमाउनुमा मुश्लिम वा सेकुलरहरुको गठजोड मात्रै निर्णायक भएको होइन । भाजपा भित्रका कमजोरीहरु पनि पक्कै कारक छन् । सवैभन्दा ठूलो झड्का खाएको उत्तर प्रदेशमा त्यहाँका मूख्यमन्त्री योगी आदित्यनाथले सिफारिस गरेका उम्मेदवारहरुलाई टिकट नदिएर केन्द्रबाट गृहमन्त्री अमीत शाहले मनपरी टिकट दिनुले हार्नै नपर्ने सिटहरु पनि हारेको बताइएको छ । उत्तर प्रदेशमा विपक्षीहरुले पाँच जना यादव उम्मेदवार दिंदा चार जना मुश्लिमलाई टिकट दिए । तर भाजपाले केन्द्रबाट टिकटको तोकादेश गर्दा हिन्दू भित्रैको जातीय सन्तुलन पनि भत्कियो ।
क्षेत्रीय समुदायहरुको गुनासो सम्बोधन नगर्नुको परिणाम पनि चुनावमा देखियो । कतिसम्म भने पाँच सय वर्षपछि राम मन्दिर बनेको अयोध्याबाटै भाजपा उम्मेदवार लल्लु सिंह पराजित भए । अयोध्यामा राम मन्दिरका लागि पहिलो संघर्ष गर्ने राजपुतहरुले राम मन्दिर निर्माणमा आफूहरुको योगदानको सम्मान नभएको गुनासो गरेका थिए, त्यसको परिणाम चुनावमा देखियो । यस्तै भारतीय सेनामा लागू गरिएको अग्निवीर योजनाले आर्मीमा जाने समुदाय चिढिएको थियो । त्यसको प्रत्यक्ष असर जाट समुदायको बाहुल्य रहेको हरियाणा, पश्चिम युपी र राजस्थानमा देखियो ।
तर सेकुलरहरुलाई भने भाजपा ढल्यो अब उठ्न सक्दैन भन्ने परेको छ । जबकी भाजपाका लागि यो चुनावले आत्मसमीक्षा गर्ने मौका दिएको छ । लगातारको बहुमतले को आफ्नो को पराई भन्ने पहिचान गर्न मुश्किल हुने अवस्था आईसकेको बेला एक कदम पछि हटेर समीक्षा गर्न बाध्य बनाएको छ । यो चुनावले भाजपको केन्द्रीय नेतृत्वबाट छायाँमा पारिंदै आएका योगी आदित्यनाथ जस्ता नेतालाई निर्णायक तहमा पुर्याउन बाध्य पार्ने विश्लेषण गरिंदैछ । सन् २०२९ को चुनावमा योगीलाई प्रधानमन्त्रीमा अघि सारेर जानुपर्ने बाध्यता भाजपा नेतृत्वलाई आईलागेको छ । भारतका हिन्दूहरुमा योगी आदित्यनाथ मोदीभन्दा पनि रुचाइएका पात्र हुन् ।
चुनावमा एकल बहुमत गुमाए पनि भाजपा सरकारमै रहने छ र सरकारको नेतृत्व प्रधानमन्त्री मोदीले नै गर्ने छन् । स्वतन्त्र रुपमा जितेका सात जना सांसदलाई पार्टी प्रवेश गराउने खेलमा नेतृत्व लागिसकेको छ । विपक्षी गठबन्धनमा रहेका शिवसेना अध्यक्ष उद्धव ठाकरे कुनै पनि बेला भाजपा गठबन्धनमा भित्रिन सक्नेछन् । एकनाथ सिन्देको शिवसेना र ठाकरेको शिवसेनाबीच एकता गराएर दुवैलाई गठबन्धनमा राख्दा विपक्षी गठबन्धनले प्रभावित गर्न सक्ने नितिश कुमारहरुको बार्गेनिङ कमजोर हुनेछ । त्यसैले कथित सेकुलरहरुका लागि भाजपाको यो पराजयको हर्ष बढाईं “मुतको न्यानो”मा परिणत हुने प्रबल संभावना छ ।



















