राष्ट्रपति पौडेल जेनेभा प्रस्थान, जिम्मेवारी उपराष्ट्रपतिलाई

राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय बैठकको उद्घाटनसत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको मञ्चमा भाग लिन आज अपराह्न जेनेभा प्रस्थान गरेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बिदाइ गरेका हुन् ।

त्यसअवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मानगारत अर्पण गरेको थियो । राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुुख एवं प्रतिनिधि उपस्थित थिए ।

जनेभामा रहँदा राष्ट्रपति पौडेलले भोलि बुधबार स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन समारोहलाई यही जेठ ३१ गते सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपति फ्रैङ्क-वाल्टर स्टिनमेयरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि जेनेभाबाट आगामी असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको बर्लिनतर्फ प्रस्थान गर्ने छन् । त्यहाँ रहँदा उनले आफ्ना जर्मन समकक्षी स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्ने छन् ।

राष्ट्रपति पौडेलका साथमा उनकी धर्मपत्नी सविता पौडेलका साथै प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा.सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन् । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कन कार्यक्रम रहेको छ ।

त्यसैगरी, राष्ट्रपति पौडेल स्विट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा जेनेभा प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन हुनेगरी तोकिएको छ । नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।