नेपाल गौरवपूर्ण अतीत भएको मुलुक हो । यसको छवि उजागर गर्न इतिहास कालखण्डमा विभिन्न शासक, संस्था तथा जनसाधारणले उल्लेख्य योगदान गरेका छन् । नेपालको पहिचान र स्वभिमान बढाउन आवासीय दूतावासले उल्लेख गरेका छन्, नेपालबाट आवासीय दूत रहने पहिलो मुलुक भोट(तिब्बत) नै थियो । सो मुलुका नेपाली दूत र अन्य कर्मचारीहरुले अन्तर्राष्ट्रिय विवादमा समेत मध्यस्थता गरेका घटना छन् । यी कर्मचारीहरु लोभ मोहमा नफसुन विदेशीसँग इज्जत कायम हुन सकोस भन्ने कुरामा राणा शासकहरु सचेत थिए । यी कर्मचारीहरुको इज्जत कायम गरिरहेमा मात्र मुलुकको प्रतिष्ठा रहने तथ्य कुटनीतिका पंडित श्री ३ महाराज चन्द्र शम्शेरले राम्ररी बुझेका थिए । उनै महाराजको कार्यकालमा भोटस्थित ग्योची ग्यायी अड्डाका मुखिया रमानाथ पाध्याले १९६९ साल चैत्र १३ गते पठाएको एक पत्रको चर्चा यहाँ गर्न खोजिएको छ ।
१९०४ ई. को ल्हासा सम्झौताले भोट एक सामारिक महत्वको स्थल ग्यान्चेमा अंग्रेज सरकारको एक व्यापारिक प्रतिनिधि रहने भए र सो स्थानमा नेपाल सरकारले पनि ल्हासाकै वकिल मातहत एक अड्डा स्थापना गरेको थियो । सोही अड्डाका तैनाथवला मुखिया रमानाथ पाध्यालाई ग्यान्त्रीका अंग्रेज एजेन्टले एक दुरविन उपहार दिएका थिए । सोही सन्दर्भमा श्री ३ महाराज र श्री कमान्डर इन चीफले पठाएको पत्रको निम्न अंश थियो :
‘‘ ……. वडा साहेवले तिमीलाई नजराना भनि दियेको दुर्वेन १ ली जाहेर गरी पठाएको जाहेर भयो । येस्तो मालहरु दियामा भरसक कुरैले चीत्त बुझाइ सके संम नली फिर्ता दिनु राम्रो हुनाले आइन्दा यस्तो मालहरु दियो भने बिना हाम्रा सरकारमा नसाधी लिन हुदैन । तपायीहरुबाट षुसीसाथ मेहरवानी गर्न मलाई वहुतै षुसी लाग्यो लिये जतिको हो येस्मा केही फरक छैन भनी राम्रो संग कुरा गरी चित्त वुझाई फिर्ता गरी दिनु । केही गरी सो माल फीर्ता लिनामा मंजुर नगरी साह्रै जोर गर्यो भने हाम्रा सर्कारमा जाहेर गरी पठाउनु जो हुकुम भै आउला सो बमोजिं गरौला अैले लाई म काहानै नहोस फिर्ता दिनु भने भै आयो भने तपाईले पछी फिर्ता लिनु पर्छ भनी कुरा गरी सो माल ली हाम्रा हजुर्मा जाहेर गरी पठाउनु जो जवाफ भै आउला सो बमोजिं गर्नु …..’’
उपरोक्त प्रलेखबाट समकालिन स्थितिको झलक पाइन्छ । विदेशमा रहेका नेपाली कर्मचारीहरु लोभमा नफसुन, विदेशीहरुमा उपहार र नजराना लिदा मुलुककै छवी धमिलो हुने हेक्का शासकहरुमा थियो । अर्कोतर्फ विदेशमा रहेका कर्मचारीहरुले झिना मसिना कुरा पनि सरकारमा जाहेर गर्ने प्रचलन भएको बुझिन्छ । राणा शासकहरुले कतिपय अनपेक्षित कार्य पनि नगरेका होइनन् तर विदेशसँग सम्बन्धमा आफ्नो मुलुकको स्वभिमान र प्रतिष्ठामा आँच आउन दिएनन् ।
जंगबहादुरले स्वतन्त्र राज्यको राजदूतको हैसियतले बेलायत भ्रमण गरेका थिए भने १९०८ ई.को इंडिया गजेटरमा नेपाललाई स्वतन्त्र राज्यको अस्तित्व नदेखाएको कारण चन्द्र शम्सेरले कुटनीति प्रयोग गरी १९२३ ई.को सन्धि गरेका थिए । नेपालको राजनीतिमा अंग्रेजले कहिल्यै प्रत्यक्ष हस्तक्षेप गरेनन्–आन्तरिक मामिलामा चासो त राखे तर हस्तक्षेप गरेनन् । राणाहरुले पनि घरायासी मामलामा अंग्रेजलाई पस्न दिएनन् । यस्तो प्रकारको नीति पछिका शासकहरुले अनुसरण गरे गरेनन्–सो को लोखाजोखा गरी विगतको वस्तुनिष्ठ मूल्यांकन गरी-इतिहासबाट शिक्षा सबैले लिनै पर्छ ।
सबैलाई चेतना भया ! अस्तु !
‘यो पत्र तिर्थ प्रसाद मिश्रको नेपाल भोट सम्बन्धमा ग्याल्बु काण्ड-२०५३’ पृष्ठ १०४ को अनुसूची ३ बाट यस पत्रको अंश उद्धहरण गरिएको हो ।


















