काठमाडौं महानगरपालिकाले करिब ३६ करोड रुपैयाँ खर्चेर भद्रकाली मन्दिर क्षेत्रका संरचनाहरूको पुनःनिर्माण गर्ने भएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले भद्रकाली मन्दिरको दक्षिण पश्चिम भागबाट पुनः निर्माणको काम सुरू गर्ने निर्णय गरेको हो ।
‘लुमधि भद्रकाली मन्दिर परिसरका संरचनाको पुनःनिर्माण सम्बन्धमा’ बसेको बैठकले पुनः निर्माण हुने ठाउँका संरचनाहरू गुठी संस्थान र लुमधि भद्रकाली व्यवस्थापन समितिले खाली गराउने निर्णय समेत गरेको छ । बैठकले सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ । सहजीकरण समितिले मन्दिर परिसरका संरचना पुनरूत्थान गर्ने क्रममा अभिलेखन, निर्माण सामग्रीको व्यवस्थापनसहित पुनः निर्माणको काममा सहजीकरण गर्ने महानगरले जनाएको छ ।
बैठकले, मन्दिर क्षेत्रमा भएका संरचना, शिल्प र शैलीको अभिलेखन (अवस्था तथा तथ्यको विवरण) तयार पार्न पुरातत्व विभागलाई अनुरोध गर्ने, अहिलेको संरचना भत्काएपछि संकलन हुने निर्माणजन्य सामग्रीलाई पुरातत्व विभाग, गुठी संस्थान, लुमधी भद्रकाली व्यवस्थापन समितिसहितको सहजीकरण समितिले समन्वय र व्यवस्थापन गर्ने निर्णय गरेको छ।पुनः निर्माणका लागि बोलपत्रबाट निर्माण पक्ष छनोट गरेर सम्झौता भइसकेको छ । यसको गुरूयोजना र डिजाइन सहरी योजना आयोगले तयार पारेको हो ।


















