अन्तर्राष्ट्रिय विकास संस्थाको बैठक असार ४ गतेदेखि काठमाडौंमा

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा)को बैठक आगामी असार पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख)सम्म काठमाडौंमा आइडा-२१ को बैठक आयोजना हुन लागेको हो ।

उक्त बैठकबारे जानकारी दिन आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव मधुकुमार मरासिनीले आइडा-२१ को बैठकले स्रोत परिचालनका लागि कस्तो नीति अवलम्बन गर्ने भन्ने मार्गदिशा तय गर्ने र नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास व्यक्त गरे । यो बैठकले विश्वव्यापी रुपमा आइडाको स्रोत परिचालनका लागि महत्वपूर्ण निर्णय गर्ने उनको भनाइ छ ।

अर्थसचिव मरासिनीले भने, ‘उक्त बैठक नेपालमा आयोजना हुनु भनेको नेपालका लागि सकारात्मक पक्ष हो । यसले नयाँ अवसर सिर्जना गर्नेछ ।’ विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जेर्बोसले नेपालको दिगो र समावेशी विकासका लागि आइडाले वित्तीय स्रोत उपलब्ध गराउँदै आएको जानकारी दिए । आइडा परिणाम हासिल गर्न सक्षम, पारदर्शी र जवाफदेही मञ्च रहेको उनको भनाइ छ ।

‘आइडा-२१ बैठकका क्रममा विश्वव्यापी विकास लक्ष्य पूरा गर्न प्रयोग गरिने स्रोतको सङ्कलन र नवीकरण गर्न दाताहरु तथा ऋण लिने राष्ट्र एकै ठाउँमा बसेर छलफल गरी आगामी रणनीति तयार गर्ने छन्’, जेर्बोसले भने, ‘आइडा सहुलियतपूर्ण वित्तीय सहायताका लागि विश्वको सबैभन्दा ठूलो स्रोतका रुपमा रहेको छ ।’ आइडाले नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, कृषि, पूर्वाधारलगायत क्षेत्रमा वित्तीय सहायता र विभिन्न संस्थागत सुधारका लागि काम गर्दै आएको छ ।

अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले आइडा नेपालको सबैभन्दा ठूलो मध्येको एक विकास साझेदार संस्था रहेकाले जलवायु वित्तलगायत नेपालको चासो र हितका विषयमा मार्गदिशा तय गर्न यो बैठक महत्वपूर्ण हुने बताए । उनका अनुसार यो बैठकले आइडाको स्रोत परिचालनसँग सम्बन्धित समग्र नीति (पोलिसी प्याकेज) तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । ‘कुन क्षेत्रमा बढी लगानी चाहिन्छ र त्यसका लागि कति लगानी आवश्यक छ भन्ने विषयमा छलफल भई बैठकले तय गर्नेछ’, नेपालले भने ।

असार ४ देखि ७ गतेसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उदघाटन गर्ने छन् । बैठकमा ७० देशका दुई सय भन्दाबढी व्यक्ति सहभागी हुँदैछन् । बैठक व्यवस्थापनका लागि अर्थसचिव मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ ।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडा बैठकमा विश्व बैंकका अध्यक्ष अजय बङ्गालगायत उच्च पदस्थ अधिकारी सहभागी हुँदैछन् । सन् १९६० मा स्थापना भएको आइडा विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमापछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो ।

आइडाले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दाबढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडाको बैठक हरेक तीन वर्षमा हुँदै आएको छ । यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ ।