कलंकी-चाबहिल सडक छिटो निर्माण गर्न चिनियाँ राजदूतलाई सांसद प्रदीपको आग्रह

नेपालसँग भएको सम्झौताअनुसार चिनियाँ राजदूत छन सोङसँगको भेटवार्तामा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रिङरोडअन्तर्गत कलंकी-चाबहिल (धोवीखोला) सडक छिटो निर्माण गर्न आग्रह गरेका छन् । चक्रपथको कलंकी-धोविखोला निर्माणका विषयमा बिहीबार चिनियाँ राजदूत सोङसँग कुराकानी भएको पौडेलले जानकारी गराए ।

राजदूतसँगको भेटमा कलंकी-धोवीखोला सडक निर्माणको विषयमा कुराकानी भएको र यसको निर्माणमा यसअघि भएको सम्झौताअनुसार चिनियाँ पक्षले काम गर्नुपर्यो भन्ने राय आफूले राखेको नेता पौडेलले सुनाए ।

जवाफमा राजदूत सोङले नेपाल सरकारले आफ्नो काम सकेको जानकारी दिएलगत्तै चिनियाँ पक्षले काम सुरू गर्ने बताएका थिए । कलंकीदेखि बसुन्धरा चक्रपथ निर्माणको सम्झौता सन् २०१८ मा भए पनि अहिलेसम्म काम हुन सकेको छैन । सडक छेउछाउका रूख कटान गरे पनि अलपत्र छाडिएका छन् । घाम लागेका बेला धुलो र पानी परेका बेला हिलो हुने समस्या रहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

पौडेलसहित काठमाडौंबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने कांग्रेस र रास्वपाका सांसदहरूले कलंकी-चाबहिल सडक छिटो निर्माणको मागसहित संसदमा जरूरी सार्वजनिक महत्वको सङ्कल्प प्रस्ताव पनि दर्ता गरेका छन् । काठमाडौंका सांसदहरूले चिनियाँ पक्षले उक्त सडक निर्माण नगर्ने भए नेपाल सरकारले आफ्नै स्रोतबाट निर्माण गर्नुपर्नेसमेत संकल्प प्रस्तावमा समावेश गरेका छन् ।