दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस भएका मानवअधिकारकर्मी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरी प्रधानमन्त्रीलाई पत्र पठाएका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पत्र दर्ता गराएका हुन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु । यसबीच मलाई बधाई, शुभकामना दिँदै मप्रति सद्भाव प्रकट गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु ।’
मन्त्रिपरिषद्को असार ७ गतेको निर्णयअनुसार आफूलाई दक्षिण कोरियाको राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको जानकारी सञ्चारमाध्यममार्फत थाहा भएको समेत उनले विज्ञप्तिमार्फत खुलाएका छन् । उनले भनेका छन्, ‘मैले प्रस्ट शब्दमा उल्लेख गर्नु पर्छ, मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा सङ्केत समेत दिइएन । राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यदक्षता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु ।’



















