सांसद धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनी रुपमा कुवेतलगायतका देशमा पुर्याउने काम झनझन बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद गुरुङले घरेलु कामदारका रुपमा नेपाली महिलालाई पठाउन नहुने भनिए पनि व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरे ।
उनले कुवेतमा अहिले पनि ४१ हजार नेपाली महिला कामदारका रुपमा रहेको र तीमध्ये २७ हजार गैरकानुनी रुपमा रहेको तथ्य प्रस्तुत गर्दै उनले पछिल्लो ६ महिनाभित्रमा १० हजार नेपाली महिला गैरकानुनी रुपमा कुवेत पुगेको सूचना प्राप्त भएको बताए ।
सांसद गुरुङले भने, ‘आफू कुवेतमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भएर नेपाल फर्किने क्रममा बेल्ग्रेटबाट फर्काइएका पाँच युवासँग भेट भएको उल्लेख गर्दै झापाको एउटा मेनपावर कम्पनीले प्रतिव्यक्ति ६ लाख ५० हजार रुपैयाँ लिएर बेल्ग्रट पुर्याएको खुलेको छ, यस विषयमा सरकारको ध्यानाकषर्ण गराउन चाहन्छु ।’
सङ्घीय संसद्को बैठक आज बिहान ११ बजे सुरु हुने भनिए पनि सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न वार्तामा बसेका कारण निर्धारित समयभन्दा डेढ घण्टापछि मात्रै सुरु भएको थियो ।


















