नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन समझदारीबाट बुझ्न पहल भइरहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन ग्रुप-इपिजी)को प्रतिवेदन दुई देशको समझदारीबाट बुझ्ने पहल भइरहेको स्पष्ट्याएका छन् । उनले आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको बताए ।

विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले नेपाल-भारत सम्बन्ध र सन्धिलाई राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाइने स्पष्ट पारे ।

रुस-युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासङ्घको काठमाडौंस्थित राजदूतावासमा निरन्तर सम्पर्क र समन्वय भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेस गर्न कार्यदल गठन गरिएको जानकारी दिए ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उनले बन्धक बनाइएका नेपालीका सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको स्पष्ट पारे । राजदूत नियुक्तिलाई ‘मेरिट’का आधारमा गरिने स्पष्ट पार्दै प्रधानमन्त्रीले आगामी दिनमा यसलाई अझ व्यवस्थित गरिने बताए ।