नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झालाई सात दिन थुनामा राखिने

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । पक्राउ परेका झालाई आज आइतबार सात दिन थुनामा राख्न अनुमति दिइएको हो ।

आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेस गरिएको झा पक्राउ परेका मितिले ७ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । प्रहरीको विशेष ब्यूरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौँको जिम्मा लगाएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाहरूलाई उच्च पदस्थ नेताहरूलाई भेटाउने काम गरेको आरोप उनीमाथि छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने अन्तिममा मात्र खुलेको थियो । छानबिनका क्रममा उनको नाममा हिमालय बैङ्कको दुई करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको पाइएपछि प्रहरीले खोजी सुरु गरेको थियो । उनी पक्राउ परेसँगै दोस्रो चरणको अनुसन्धान अघि बढेको हो ।

यसअघि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पनि शुक्रबार नै पक्राउ परेका थिए । थापालाई पहिलो चरणको अनुसन्धानमा प्रतिवादी बनाइए पनि झाको ठेगाना नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन । थापालाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनलाई अदालतले फिर्ता पठाएको छ ।