सिंगो युरोपको राजनीति दक्षिणपन्थतिर ढल्किरहेको बेला युरोपको केन्द्र बेलायतमा भने मध्य बामपन्थी दल लेबर पार्टी भारी बहुमतसहित सत्तामा फर्केको छ । पारिपट्टीको फ्रान्समा पहिलो पटक अति दक्षिणपन्थीहरु सत्तामा आउँदै गर्दा बेलायतमा बामपन्थी रुझानको लेबर पार्टी सत्तामा आउनुको कारण के हो त ? अर्थात के लेबर सरकारले सिंगो युरोपमा चलको दक्षिणपन्थी आँधीको सामना गर्द सक्ला ?
हुन त अहिलेको लेबर पार्टी र कञ्चरभेटिब पार्टीमा नाम र नेताको मात्रै फरक हो भनिन्छ । सन् २०१० देखि लगातार सत्तामा रहेको कञ्चरभेटिब पार्टीको असफल शासनप्रतिको जनआक्रोश पोखिंदा लेबर पार्टी र त्यसका नेता किअर स्टारमर (नवनियुक्त प्रधानमन्त्री) लाई चिट्ठा परेको रुपमा पनि अहिलेको चुनावी परिणामलाई विश्लेषण गरिंदै छ । तर यही चुनावी परिणामभित्र पनि गम्भीर संकेतहरु लुकेका छन् ।
गत महिला भएको युरोपेली संसदको चुनावमा दक्षिणपन्थीहरुले जीत हासिल गरे । त्यसकै झड्कामा चुनाव घोषणा गरेका फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई पहिलो चरणको चुनावले नै झन् ठूलो झड्का दिईसकेको छ । फ्रान्सको ईतिहासमै पहिलो पटक अति दक्षिणपन्थीहरु दल नेशनल र्याली सत्तासिन हुने प्रबल संभावना देखिएको छ । युरोपको अर्को देश नेदरल्याण्ड्स्मा गत साता भएको निर्वाचनबाट दक्षिणपन्थी सरकार गठन भईसकेको छ । इट्लीमा त गत वर्ष नै मुसोलिनीपछि पहिलो पटक दक्षिणपन्थी दल सत्तामा आयो र जोर्जिया मेलोनी प्रधानमन्त्रीको रुपमा राम्रैससंग कमाण्ड गरिरहेकी छन् ।
युरोपमा यसरी धमाधम दक्षिणपन्थीहरु शासनमा आउनुका पछाडि थुप्रै कारणहरु छन् । खाशगरी युरोपका शिथिल अर्थतन्त्र, बढ्दो आप्रवासन समस्या, इन्धनको मूल्य वृद्धि, महंगो जिविकोपार्जन र शून्य कार्बनका नाममा भईरहेका वातावरण पक्षीय फण्डालगायतका विषयले युरोपका सर्वसाधारणमा आक्रोश चुलिंदो छ । लोकतन्त्र पक्षधर भन्नेहरुका कारण जनजीवन कष्टकर बन्दै गएको भन्ने धारणामा उनीहरुमा ब्याप्त छ । अमेरिकामा डोनल्ड ट्रम्पले उठाएका मुद्धालाई ठीक ठान्ने जमात युरोपमा दिन प्रति दिन सशक्त बन्दै गईरहेका छन् ।
यस्तै मुद्धाहरु उठाएर युरोपेली युनियनबाट बाहिरिएको बेलायतमै किन लेबर पार्टी सत्तामा आयो भनेर विश्लेषण भईरहँदा बुझ्नुपर्ने संकेत बेलायती चुनावको नतिजा भित्रै छ । मध्य बामपन्थी लेबरले संसदीय गणितमा भारी बहुमत जित्दै गर्दा बेलायतको अति दक्षिणपन्थी दल रिर्फम युके लोकप्रिय मत पाउने तेस्रो दल बनेको छ । ४१२ सिट जितेको लेबर पार्टीले ३४ प्रतिशत लोकप्रिय मत पाएको छ भने नराम्रोसंग पराजय भोगेको कञ्चरभेटिबले २४ प्रतिशत मत पाएको छ । तर मात्रै चार सिट जितेको अति दक्षिणपन्थी रिर्फम युकेले १४ प्रतिशत मत पाएको छ । जबकी चुनावी परिणामका हिसाबले ७१ सिटसहित तेस्रो स्थानमा रहेको स्कटिस नेशलन पार्टीले १२ प्रतिशत मात्रै लोकप्रिय मत पाएको छ ।
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प निकटका रिफर्म युके पार्टीका नेता निगेल फराज आठौं पटकको चुनावी प्रतिष्पर्धापछि पहिलो पटक संसदमा निर्वाचित भएका छन् । निगेल फराज यस्ता ब्यक्ति हुन जसको लगगभ एकल अभियानले बेलायतलाई युरोपेली युनियनबाट बाहिरिने कि रहने भन्ने निक्र्यौल गर्न जनमत संग्रहमा पुर्याएको थियो । बेलायती संसदमा फराज अन्य तीन जना सहयोगी सांसदसहित उपस्थित हुनु मात्रै पनि लेबर पार्टीका लागि फलामको च्युरा हो भनिंदैछ । संसद बाहिरैबाट पनि कतिपय नीतिगत निर्णयहरुमा प्रभाव पार्न सक्ने निगेल फराज संसदमै उपस्थित हुनु प्रधानमन्त्री स्टारमरका लागि ग्रिनेड पड्कनु बराबर हो भनिंदैछ छ ।
चुनावी हारपछि नयाँ नेता समेत पहिल्याउन मुश्किल अवस्थामा रहेको कञ्जरभेटिबभित्र रिफर्म युकेलाई टक्कर दिनसक्ने दक्षिणपन्थी नेताको खोजी हुनु पर्नेदेखि निगेल फराजसंग गठबन्धन गर्नुपर्ने जस्ता बहस शुरु भएका छन् । यस्ता बहसले बेलायती राजनीतिमा पनि दक्षिणपन्थ कसरी आकर्षण बन्दैछ भन्ने पुष्टि गर्दछ ।
युरोपका अन्य देशहरुले सामना गरेको भन्दा बेलायतको समस्या पनि खाशै फरक छैन । नयाँ प्रधानमन्त्री स्टारमर र उनको सरकारले छोटो समयमै सकारात्मक सुधारहरु गर्न सकेन भने बेलायती राजनीतिमा पनि दक्षिणपन्थीहरुलाई रोक्न मुश्किल हुने पक्का छ ।


















