भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’को उकरण सञ्चालनमा ल्याउन लागिएको हो ।
प्रा.डा.पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको २५ करोड र अस्पताल विकास समितिको पाँच करोड गरी ३० करोड रुपैयाँमा मेसिन खरिद गरिएको हो । स्वास्थ्य बीमाले तय गरेको नौ हजारदेखि १४ हजार रुपैयाँ शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उनले बताए । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ ।
अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्यत्र जानुपर्ने बाध्यता थियो । अस्पतालमा आउने बिरामी मध्ये दुर्घटनाका धेरै हुने बताइएको छ । अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरेलगायतका उपकरण यसअघि नै सञ्चालित छ । अस्पतालमा ‘क्याथल्याब’ सञ्चालन गर्ने तयारी गरिएको छ ।



















