सिमलताल पहिरोमा हराइरहेका बस चालकका छोराछोरीको अध्ययनको जिम्मा महानगरले लिने

वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीन जना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । ‘सिमलताल पहिरो: जवाहीरको परिवारमा परेको पीडा’ शीर्षकमा घरमुली जवाहीर हराएपछि सन्तानको पालनपोषण र शिक्षामा समस्या हुने विषयमा केन्द्रित रहेर प्रकाशित समाचारलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उक्त जिम्मेवारी लिने निर्णय गरेका हुन् ।

समाचार प्रकाशन भएको भोलिपल्टै अर्थात् आज बिहान वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गरे । उनले भने, ‘बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिने छ। जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कार्यान्वयन गर्नेछ ।’

जवाहीरका एक छोरी र दुई छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१-०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका-२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशुली नदीमा खसेको थियो । नगरप्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगरपीडित परिवारको साथमा रहेको बताएका छन् ।