दोलखा । दोलखा स्थित प्रसिद्ध भिमेश्वर मन्दिरको शिलामा आज बुधबार पुन पसिना आएको छ । आज दिउसो १२ बजेर ४५ मिनेट देखि शिलामा पसिना आएको स्थानियले जानकारी दिए । यस अघि श्रावण ५ गते शनिबार दिउँसो १ः२० बजे एकाएक दोलखा भिमसेनको शिलाबाट पसिना आएको थियो । त्यस दिन शुरुमा बायाँ बाट आएको पसिना पछि दायाँबाट र पुनः बिचबाट आएको पुजा व्यवस्थापन समितिले जानकारी दिइएको थियो। शिलाको सवै भागवाट पसिना आए मुलुकमा ठूलै अनिष्ट हुने अनुमान गरिन्छ । दायाँवाट आउँदा राष्ट्र प्रमुख तथा सरकार र बाँयावाट आउँदा जनतामा अनिष्ट हुने जनविस्वास छ ।
दोलखा भिमसेनको शिलाबाट पसिना आउनुलाई काठमाडौं उपत्यकामा शुभ संकेतको रुपमा लिइदैन । बिगतमा विभिन्न समयमा यसरी नै पसिना आउँदा देशमा अनिष्ट भएको जानफकारहरु बताउँछन । उनीहरुका अनुसार यस अघि वि.सं. २०५८ मा पसिना आउँदा तत्कालिन राजा विरेन्द्रको पुरा परिवार विनाश भएको थियो भने २०७२ मा पनि भुकम्प पूर्व यसैगरी पसिना आएको स्थानीय बताउँछन् । यसरी दोलखा भिमसेनमा यस पटक पनि करिब ३ दिन अघि पसिना आएको समाचार आयो र ३ दिन पछि सौर्य एयरलाइन्सको काठमाडौंबाट पोखरा जान लागेको विमान दर्घटना भई त्यसमा सवार १८ जनाको ज्यान गएको खबर आएको छ । आज पुन भिमसेनलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सँख्यामा स्थानीयवासी र भक्तजन भेला भएका छन । भिमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै कुनै अनिष्ट नहोस् भनेर कामना गर्ने र शिलालाई चम्मरले हम्किने चलन छ । भिमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित सवै प्रकारका बाजाहरु बजाईन्छ ।
अनिष्ट टरोस भनेर पसिना आएपछि क्षमापुजा गर्ने चलन छ । संकट टरोस भन्दै राष्ष््ट्रपति कार्यालयबाट पठाएको पूजासामग्री सहितले दोलखा भीमेश्वरमा क्षमापूजा गरिन्छ । भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ । क्षमापूजाका क्रममा १३ जना पण्डितहरुबाट लघुरुद्री गरिन्छ । लघुरुद्री गरिसकेपछि बलिपूजा गरिन्छ । त्यसमासरकारका तर्फबाट २ र स्थानीयको तर्फबाट २ गरी ४ वटा बोका बलि दिनुपर्ने प्रचलन छ ।

















