सहकारी क्षेत्र डुब्यो भने देशको अर्थतन्त्रमा ठूलो समस्या आउँछ ,सरकारको समयमै ध्यान पुगोस धुर्वप्रसाद खनाल अध्यक्ष बहुआयमिक कृषी बचत तथा ऋण सहकारी संस्था लि

धुर्व प्रसाद खनाल लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय रहदै आउनु भएको ब्यक्तित्व हुनु हुन्छ । बहुआयमिक कृषी बचत तथा ऋण सहकारी संस्थालिको अध्यक्ष समेत रहदै आउनु भएका खनालले विगत ६,७ वर्षदेखि निरन्तर रुपमा सहकारी क्षेत्रमा विकृतिहरु बढ्न थालेको आवाज उठाउँदै आउनु भएको थियो ।उहाँले केही व्यक्तिहरुले सहकारीको पैसा दुरुपयोग गर्दै आएका छन् भन्दै आउनु भएको थियो । उहाँले सम्बन्धीत निकायबाट यसको उचित अनुगम हुनुपर्दछ भनेर समेत भन्दै आउनु भएको थियो । उहाँले उठाएको सहि कुरा पनि सुनुवाई भएन अहिले सहकारी क्षेत्र समस्यामा छ । यति बेला उहाँले बचतकर्ताले आफूले बचत गरेको रकम फिर्ता गर्न चाहेका हुन्छन् सञ्चालक लगेर थृुन्दैमा उनीहरुको समस्या समाधान हुदैन त्यसैले सहकारी क्षेत्रको समस्या समाधानान सरकार गम्भिर बन्नु पर्ने उहाँको सुझाब छ । प्रस्तुत छ खनालसंगको कुराकानीको सम्पादित अंश
तपाई लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय रहदै आफै पनि बहुआयमिक कृषी बचत तथा ऋण सहकारी संस्थालिको अध्यक्ष पनि रहदै आउनु भएको छ ,पछिल्लो समयमा सहकारी क्षेत्रमा धेरै समस्या देखिएका छन् यसलाई कसरी विश्लेषण गर्नु हुन्छ ?
म विगत १५ वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशील रहदै आएको छु । यो क्रममा सहकारी विभागको उपप्रमुख भएरपनि काम गरे , त्यसैगरी जिल्ला सहकारी संघको आमन्त्रीत सदस्य देखि सल्लाहकार सम्म भएर पाँच बर्ष काम गरे । यसरी सहकारीमा सक्रिय भइरहँदा पछिल्ला दुई वर्षमा सहकारी क्षेत्रमा धेरै उतावचढाव आएका छन् । सहकारी क्षेत्र भित्रै बाट र सहकारी क्षेत्र बाहिरबाट खास गरि सरकारी क्षेत्रबाट पनि यसमा केही समस्याहरु सिर्जना गरिएका छन् । सहकारी क्षेत्रका संघसंगठन र अनुगमन गर्ने निकायहरुले पनि राम्ररी अनुगमन र नियमन गर्न सकेका छैनन् । जसले गर्दा हचुवाको भरमा सरकारी खोल्ने र त्यसबाट आफ्नो अभिष्ठ पुरा गर्ने काम भए । सहकारीको सात नियम भन्दा बाहिर गएर काम गरे । सहकारी क्षेत्रका ऐन नियम र आफैले बनाएका विनियमहरु समेत पालना नगरी त्यसभन्दा बाहिर गएर बचत कर्ताको रकम शेयरमा लगानी गर्ने, जग्गा प्लटीङ गर्ने गरेको देखियो । त्यसैगरी ब्याजमा पनि अस्वस्थ्य प्रतिश्प्रर्धा गरेको देखियो । डिपोजिटमा नै १८ प्रतिशतसम्म ब्याज दिने गरेको पाइयो यो भए पछि लगाानी कतिमा गर्ने । यस्ता विविध कारणले गर्दा पछिल्लो समयमा सहकारी क्षेत्रको अवस्था सोचेजस्तो राम्रो छैन ।
तपाईले त विगत ६,७ वर्षदेखि निरन्तर सहकारी क्षेत्रमा विकृतिहरु बढ्न थालेका छन् केही व्यक्तिहरुले सहकारीको पैसा दुरुपयोग गर्दै छन् ,यसको सम्बन्धीत निकायबाट उचित अनुगम हुनुपर्दछ भनेर आवाज उठाउँदै आउनु भएको थियो अहिले त तपाईले भने जस्तै धेरै सहकारीले बचत कर्ताको रकम मनोमानी खर्च गरेको पाइयो तपाईले उठाएको सहि कुरा पनि सुनुवाई किन नभएको होला ?

तपाईले भने जस्तै मैले विगतदेखि नै सहकारी क्षेत्रका विकृतिहरु अन्त्य गर्न सहकारी सम्बद्ध निकायहरुमा आवाज उठाउदै आएको थिए । तर त्यसको उचित सुनुवाई भएन । सहकारी क्षेत्रका संघसंगठनमा दलहरुका मान्छेले क्याप्चर गरेका छन् । उनीहरुले देशी विदेशी संघसंस्थाबाट आउने सहयोगलाई समेत आफ्नो हातमा लिएर दुरुपयोग गर्ने गरेका छन् । मैले सहकारीमा परिवारका मान्छेहरुको हावी भयो यसले सहकारीलाई गलत ठाउँमा लान्छ भनेर कुरा उठाउदै आएको थिए तर कतै सुनुवाई भएन । केही दिन पहिला राष्ट्रिय सहकारी महासंघले विभिन्न दलका सहकारी विभागका प्रतिनिधिलाई राखेर अन्तरक्रिया गरेको थियो । त्यसमा पनि मैले यही कुरा राखे । अहिले ३३ हजार सहकारी दर्तामा छन् । त्यसमध्ये २९ हजार सञ्चालनमा छन् । यी मध्ये दुई चार सय केही ठूला सहकारीले गलत काम गर्दा सम्पूर्ण सहकारीलाई बद्नाम गराए । धेरै सहकारीले व्यक्तिहरुलाई उद्धमशील र व्यवसायी बनाएका छ । सहकारीका सदस्य भएपछि सानो पूजिँको निम्ति अन्त धाई राख्नु पर्दैन । सहकारीबाटै ऋण लिएर व्यवसाय गर्न सकिन्छ । त्यस्तो भई रहेको पनि छ तर केही सहकारीले यसो नगर्दा समस्या भएको हो । जनताको जिउधनको सुरक्षा गर्ने दायित्व सरकारको हो त्यसैले सहकारीमा राखेको रकमको सुरक्षा पनि सरकारले गरि दिनु पर्दछ । अहिले पछिल्लो समय सिआईवी राष्ट्र बैंक लगायतले सहकारीमा पैसा नराख्नु भन्ने खालका सुचना जारी गर्दै छन् भन्ने सुन्नमा आएको छ । यदि त्यो सत्य हो भने त्यो उचित होइन त्यसै गरी यदि सहकारीमा सबै एकै चोटी जम्मा गरेको रकम फिर्ता गर्न आए भने एकै चोटी फिर्ता गर्न सक्ने अवस्था हुँदैन किन कि रकम कतै लगानी भएको हुन्छ । व्यक्तिले ऋणले लिएर उधोग व्यवसायमा लगानी गरेका हुन्छन । छोरा छोरीको शिक्षाकोलागि खर्च गरेको हुन सक्छ । यस्तोमा भन्दा साथ ऋणीले पनि फिर्ता गर्न सक्दैनन । यस्तो दवावमा पर्ने बातावरण बन्न दिनु हुँदैन । लगानी गरेको पैसा फिर्ता नभएर सहकारी समस्यामा परेको हो कि गलत गरेको हो त्यो पनि हेर्नु पर्दछ । अहिले ऋण तिर्न हुन्न भन्ने अभियानमा लगेका पनि छन् त्यस्तो बेलामा सरकारले ऋण तिर्नु पर्छ भनेर जनतालाई सुचित गर्नु पर्दछ, होइन भने सर्वसाधारणले तिर्नु पर्ने रहेनछ भनेर नर्तिन सक्छन् । यस्तो ऋण नर्तिर्नेलाई कानुनी दायरामा ल्याई दिने काम गर्नु पर्दछ । यसो भयो भने ८०, ८५ प्रतिशत समस्याहरु समाधान हुन्छ । ऋण लग्नेले ऋण लगेर के गरयो त्यो पनि खोज्नु पर्दछ । यदि तिरेन भने उसको अन्य सम्पत्ति रोक्का गरि दिनु पर्दछ । त्यसैगरी सञ्चालकहरुलाई पनि थुनेर पनि समस्या समाधान हुँदैन । बरु उसको अन्य सम्पत्ति रोक्का गरेर उसलाई सर्वसाधारणले सहकारीमा बचत गरेको रकम फिर्ता गर्ने समय दिनु पर्दछ । सञ्चालकहरुले म फिर्ता गर्दछु भन्दा भन्दै पनि लगेर थुन्ने गरेको छ । यो उचित काम होइन ।

बचतकर्ताले आफूले बचत गरेको रकम फिर्ता गर्न चाहेका हुन्छन् सञ्चालक लगेर थृुन्दैमा उनीहरुको समस्या समाधान हुन्छ र ?
राज्यले बचत मात्र होइन ऋण कहाँ लगानी गरयो कस्तोलाई गर्यो भनेर पनि हेर्नु पर्दछ । यदि ऋण लगेर तिरेन भने सहकारीलाई समस्या पर्दछ । यस्तो अवस्थामा उसको अन्य सम्पत्ति समेत रोक्का गर्ने वडा बाट पाउने सेवा सुविधाहरु रोक्का गर्ने जस्ता काम पनि गर्नु पर्दछ । त्यसो भयो भने मान्छेले ऋण र्फिता गर्दछन् । ऋण फिर्ता भएपछि सहकारी सहज रुपले अगाडि बढ्दछ । अहिले सहकारी क्षेत्रमा चार खर्व भन्दा बढी कारोवार छ जुन सम्पूर्ण देशको बजेटको एक तिहाई हो यस्तो अवस्थामा सहकारी क्षेत्र डुब्यो भने ठूलो समस्या आउन सक्छ
हालसालै बजेट आएको छ राष्ट्र बैंकले नयाँ मौद्धिक नीति पनि सार्वजनिक गरेको छ । यसकले समस्या समाधान गर्नु कतिको मद्दत गर्ला ?
मैले प्रधानमन्त्रीले संसदमा बोल्दा सहकारी ठगी गर्नेलाई कारवाही गरिने छ भनेर बोलेको सुनेको थिए । जुन सरकार आए पनि यही कुरो बोल्छन् तर त्यही पार्टीका नेता कार्यकर्ताले नै सहकारी क्षेत्र विगारी रहेका हुन्छन् । सहकारी विगार्नेहरु नै देशका न्यायलयहरुमा, सरकारी ओदाहरुमा बसेका छन् । अहिले भएको कानुन एकदम पुरानो खालको छ । यो पनि समय अनुकूल छैन । यस्ता धेरै समस्या छन् । अदालतकै पनि हेर्ने दृष्टिकोण सकारात्मक छैन सहकारी भनेका चोर हुन भन्ने दृष्टिकोण देखिन्छ । त्यसैले राज्यले दु्रतगतिमा सहकारीको बास्तविक समस्या के हो कसले बिगारेका हुन् भनेर अध्ययन गरी समस्या समाधान गर्न लाग्नु पर्दछ । 
तपाई आफू अध्यक्ष रहेको बहुआयामीक कृषि तथा बचत सहकारी कसरी चल्दैछ ?
अहिले २९ हजार सहकारी सञ्चालनमा रहेकोमा तीन चार सय सहकारी बाहेक अरु राम्रै सँग चलेका छन् । हाम्रो कुरा गर्नु हुन्छ भने हामी काठमाडौंको पश्चिम भागमा बिशेष गरि नागर्जुन नपा सेरोफेरोमा केन्द्रीत रहेर काम गरेका छौं । हाम्रो काम कृषिमा केन्द्रित गर्ने गरी सुरु गरेका थियौं तर काम गर्दै जाँदाकाठमाडौ शहर भएकोले कृषिमा लगानी गर्दा अलि बढी गाह्रो हुने देखेपछि हामीले कृषी तथा बचत भनेर बढी यसमै काम गरेका छौं । हाम्रो सहकारीमा १५ सय ३२ जना सदस्य हुनुहुन्छ । उहाँहरु सबै सहकारी सँग सन्तृष्ट हुनुहुन्छ । हाम्रा सदस्यहरुका छोराछोरी हामीले कापीकलम सहित छात्रवृद्धि दिई रहेका छौं सहकारी नाफा मै छ । यद्यपी गत वर्ष भन्दा नाफा केही घटेको तर आत्तिनु पर्ने कुनै अवस्था छैन । सहकारी राम्रो सँग चलिरहेको छ ।
सहकारीको पूँजि कति छ ?
करिब ३२ करोड छ त्यसमा करिब साढे १८ करोड बचत छ पौने ४ करोड जति शेयरपूँजि छ । त्यसैगरी हामीले राष्ट्रिय सहकारी बैंक, नेप्सुन लगायतबाट पनि ऋण लिएर सदस्यहरुलाई लगानी दिई रहेका छौं । देशको आर्थिक अवस्था त्यति राम्रो नभएपनि हाम्रोमा ठिकै छ । बचत तथा ऋण दुवै कार्य राम्रै सँग चलिरहेका छन् । त्यसैगरी हामीले सहकारीमा कुनै समस्या आउन दिनु हुन्न भनेर सचेतना साथ काम पनि गरेका छौं ।
सहकारीमा तरलताको अवस्था कस्तो छ ?
तरलताको अवस्था पनि राम्रो छ । करिब २० प्रतिशत तरलता छ ।
लगानिको अवस्था कस्तो छ ?
हाम्रो लगानिको अवस्था पनि राम्रै छ । हामीले लगाानीमात्र भन्दा पनि सुरक्षित लगानीमा जोड दिएका छौ ।यद्यपि हामीले अहिले लगानी भन्दा असुलीमा बढी ध्यान दिएका छौं ।
विगतमा सहकारीको तर्फबाट आफ्नो केही उत्पादन गर्ने कि भनेर योजना बनाई राख्नु भएको थियो अहिले के भई रहेको छ?
हामीले योजना बनाई रहदा देशमा आर्थिक मन्दी आयो कोरोना लगायतको समस्याहरु आयो जसले गर्दा अहिले तत्काललाई त्यस तर्फ सोचेका छैनौं ।
सहकारीका शेयर धनि, बचत कर्ता, तथा सदस्यहरुलाई के भन्न चाहानु हुन्छ ?
सहकारीमा जो जो ले शेयर लगानी गर्नु भएको छ ,वा बचत गर्नु भएको छ, म उहाँहरुलाई के भन्न चाहान्छु भने जजसले बहुआयामीक कृषि तथा बचत सहकारीमा शेयर लगानी गर्नु भएको छ वा बचत गर्नु भएको छ । हामीले तपाईहरुलाई मुनाफा दिर्दै अगाडि बढाउने योजनामा छौं । तपाईहरु ढुक्क साथ बस्नुस् । तपाईहरुको लगानीमा कुनै समस्या आउँदैन ।
अन्त्यमा ..?
सहकारी क्षेत्रमा ६०,६५ लाख मानिसहरु सहमाहित छन् यो क्षेत्र तहस नहस हुने खतरामा
छ । राज्यको २० प्रतिशत भन्दा बढी जनसंख्याको सहभागीता रहेको सहकारी क्षेत्रलाई उचित तरीकाबाट अगाडि बढाउन राज्य र सहकारी क्षेत्रमा लागेकाहरु गम्भिर बन्नु पर्दछ । यसो भयो भने सहकारी क्षेत्रलाई ठिक रुपले अगाडि बढाउन सकिन्छ ।