चारवटा संसदीय समितिको बैठक बस्दै

चारवटा संसदीय समितिका बैठक आज बस्दै छन् । जस अन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुने बताइएको छ ।

त्यस्तै कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ गरिने छ ।

यता बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपभोक्ता तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धनलगायतका सम्बन्धमा मन्त्रालयबाट भए गरेका काम कारबाही, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी विधायन व्यवस्थापन समिति बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।