न्यायको व्यापार गर्ने पसलहरु बन्द नहुँदा सम्म ,नागरीकले न्याय पाएको महसुस गर्ने अवस्था आउँदैन ,वीरेन्द्रकुमार ठाकुर ,पुर्व मुख्य न्यायधिवक्ता मधेश प्रदेश सरकार

तपाईले हालै मधेश प्रदेश सरकारको मुख्य न्यायधिवक्ताबाट राजिनामा दिनु भयो किन राजिनामा दिनु भएको हो ?

संवैधानिक प्रक्रिया अनुरुप नयाँ सरकार आएपछि पुरानो सरकारको मुख्य न्यायधिवक्ताले पनि राजिनामा दिने प्रचलन छ । सोही अनुरुप मधेश प्रदेशमा नयाँ सरकार बनेपछि मैले राजिना दिएको हुँ । मुख्य न्यायधिवक्ता पनि मुख्यमन्त्री टिमको सदस्य हुन्छन् । नयाँ मुख्य मन्त्री आएपछि उनले आफ्नो विश्वासिलो मान्छेलाई न्यायधिवक्ता राख्ने गर्दछन । महान्यायधिवक्ता भनेको जागीर खाने पद होइन । मुख्यमन्त्रीलाई कानुनी सल्लाह दिने पद हो । त्यसैले मैले पनि नयाँ मुख्यमन्त्री आएपछि राजिनामा दिएकको हुँ ।
यहाँले करिब १८ महिना मधेश प्रदेश सरकारको मुख्य न्यायधिवक्ताको रुपमा काम गर्नु भयो काम गर्दाको अनुभूति कस्तो रहयो ?
नेपाल संघीयतामा गएको धेरै भएको छैन । संघीयताको अभ्यास सुरु भएको ६,७ वर्ष भयो । प्रदेशहरुमा अहिले पनि संघीयताको मर्म अनुरुप धेरै वटा कानुन बनाउनु पर्ने अवस्था छ । मधेश प्रदेशमा पनि म जानु अगाडि प्रदेश सरकारले २२,२५ वटा कानून बनाएको थियो । म गए पछि १०,१२ वटा कानून बनाए । म जानु अगाडि कानुन मस्यौदा समिति प्रभावकारी थिएन । म गए पछि सबै सरोकारवाला पक्षलाई समेटेर मस्यौदा समिति बनाए । यसका अतिरिक्त सरकारका कामकारवाहीमा कानूनी सल्लाह दिने संवैधानिक व्यवस्था अनुरुप कानुनी सल्लाह दिने काम गरे । प्रदेशका ८ वटा जिल्लामा निःशुल्क कानूनी सल्लाह दिन कार्यालय स्थापना गरी कानून अधिकृत राखेर कानूनी सल्लाह दियौं । असाहयसँग एक रुपियाँ पनि नलिएर मुद्धा लेख्ने देखि बहस पैरवी गरि दिने काम गरौं । प्रदेश सरकार विरुद्ध सर्वोच्च अदालत र विशेष अदालतमा डेढ दुई सय मुद्धा छन् । ती मुद्धाहरुमा बहस पैरवी गरे । अनुसूची ६ अनुरुप थुप्रै कानून बनेका थिएनन ति कानून बनायौं जस्तै स्थानीय तहका कर्मचारी व्यवस्थापन, कृषिलाई व्यवस्थीत गर्ने कानून, भूमि, यातायात, शिक्षा, सुशासन लगायतका ऐनहरु बनायौं ।
प्रदेशले कानून र कर्मचारी अभाव भयो भनेर विशेष रुपले उठाउदै आएका थिए कानून बनाउने कुरामा तपाईको भूमिका कस्तो रहयो ?

संघीयता अहिले प्यारालाइस भएको अवस्थामा छ । तपाईले प्रश्न गरे जस्तै प्रदेशमा कानून र कर्मचारीको अभाव छ । प्रदेशले एउटा सानो गुठी व्यवस्थापन गर्न सक्ने अवस्था पनि छैन । भूमि, कृषि, शिक्षा, स्वास्थ्य व्यवस्थापन गर्ने अवस्था छैन । सबै कानूनमा संघीय कानुन अनुरुप हुनेछ भन्ने उल्लेख छ । संघीय कानूनहरु बनि सकेका छैनन । त्यस्तै कर्मचारीले कहाँ रोज्ने भनेर समायोजनको समयमा संघ र प्रदेश मध्ये रोज्न भनियो प्रदेशहरुले कानून त बनाए । तर त्यो प्रदेश मातहतका कर्मचारीलाई मात्र हो । प्रदेशको सचिव, सहसचिव संघबाट खटाइन्छ । अहिले पनि प्रदेशमा ३ हजार कर्मचारी संघबाट गएका छन् । प्रदेशका सबै तहको नेतृत्व केन्द्रबाट गएका कर्मचारीले गरेका छन् । कार्यकारी अधिकृत, सिडयो, एसपी सबै केन्द्रबाट खटाइन्छन् । म डेढ वर्ष मधेश प्रदेशमा बस्दा ५ जना त मुख्य सचिव नै फेरबदल भए । यो फेरबदल संघबाटै भए । उनीहरको बिदा, काज त्यहाँ बस्ने नबस्ने सबै संघबाटै निर्देशित हुन्छन् । जसले गर्दा उनी प्रदेशमा भन्दा संघप्रति जवाफदेही हुन्छन् । त्यही कारणले गर्दा प्रदेशले बनाएको ऐन पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । संघीय ऐन सँग बाँझिदा साथ त्यो निस्कृय हुन्छ । जसले गर्दा कयौं ऐन कार्यान्वयन हुनसकेन । संघले सबै लगाम आफ्नो हातमा राखेको छ । जसरी घोडालाई लगाम हातमा लिएर कुद् भन्यो भने घोडा कुद्न सक्दैन अहिले त्यस्तै अवस्था छ । संघले लगाम हातमा राखेर प्रदेशलाई कुद् भनेको छ । तर प्रदेश कुद्ने अवस्था छैन । प्रदेशलाई आफ्नो खुटटामा उभिन आर्थिक व्यवस्थापन राजश्व संकलन लगायतका अधिकार दिनु पर्ने अहिले यी अधिकार पनि केन्द्रमै
छन् ।
तपाईले प्रदेशलाई संघले लगाम आफ्नो हातमा राखेर काम गर्न दिएन भन्नु भयो तर आम नागरिकले त प्रदेशहरु नै सेतो हात्ती भयो भन्छन् नी ?

यो त संघले सम्पूर्ण लगाम आफ्नो हातमा राखेकोले सिर्जित अवस्था हो । संघबाट जुन अनुदान जान्छ । त्यसलाई त हामीले मन्दीरमा चढाएको भेटी भन्छौं । अहिले पनि तपाई जनकपुरका जानकी मन्दीर राम मन्दीर लगायतमा पुग्नु भयो भने त्यहाँ पुजा गर्न दैनिक १ सय देखि १ हजारसम्म दिइन्छ । हजार रुपियाँमा त १ केजी लडडु पनि आउँदैन । दिगम्बरको महारानीले बनाएको जानकी मन्दीर विश्वकै एउटा प्रमुख धार्मिक सम्पदा
हो । तर त्यहाँ सरकारले दैनिक १ हजार मात्र दिन्छ । खर्च भने ५० हजार हुन्छ । मन्दीरमा धेरै साधु सन्त पुजारी छन् । त्यसमा खर्च हुन्छ । संघले प्रदेशलाई दिने बजेटको अवस्था पनि यस्तै छ । सबै कार्यालयको प्रमुख संघले खटाउछ । उनीहरुले केवल करप्पसन कलेक्शन सेन्टरको रुपमा काम गरेका छन् । तर वद्नाम प्रदेशलाई गरिएको छ । जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलनको उपज संघीयता हो । बुख्याचाको रुपमा सिडियो किन चाहियो यो त काम गर्न भन्दा गर्न नदिन अकुंश लगाउन
हो । प्रदेश सरकारलाई संघीयताको मर्म अनुरुप काम गर्न नदिएकोले अहिले प्रदेशलाई हात्तीको देखाउने दाँत जस्तै बनाइएको छ । संघबाट कर्मचारी जान्छन् । उनीहरु सँगै मिलेर केही व्यापारी, ठेकेदार, राजनीतिज्ञले काम गरेका छन् । तर वद्नाम प्रदेशलाई गरिएको छ । संघले जबसम्म प्रदेशलाई व्यवस्थीत गर्ने कानून बनाउदैन तबसम्म प्रदेश हात्तीको देखाउने दाँत जस्तै हुन्छ ।
तपाई आफै क्रियाशील रहेको नेपालको न्याय क्षेत्र पनि संघीयताको मर्म अनुरुप पुर्नसंरचना गर्नु पर्नेमा नभएको आवाज उठ्ने गरेको छ नी ?

प्रभावकारी न्याय व्यवस्थापन भएन भन्ने कुरा पटक पटक उठ्ने गरेकाछन् । अहिलेकै संविधानको कुरा गर्ने हो भने यसमा चार प्रकारको अदालतको परिकल्पना गरिएको छ । यसमा स्थानीय अदालतको पनि परिकल्पना छ । एउटा जिल्ला ८० देखि १ सय किमीको भूभागमा रहेको पाईन्छ । यो भित्र १८,२० वटा पालिका छन् । प्रत्येक पालिकामा न्यायिक समितिको व्यवस्था छ । तर न्यायिक समितिबाट अहिले पनि जति हुनु पर्ने त्यति काम भएको छैन । किनकि न्यायीक समिति ऐनमा उपमेयरलाई न्यायीक समितिको अध्यक्ष बनाएको छ । यो ऐन बनाउदा ऐन बनाउने मान्छेले पटकै नबुझेको देखियो । न्यायीक समितिलाई स्थानीय अदालत बनाउने हो भने साना तिना विवाद त्यही समाधान हुन्छन् ।अहिले १० वर्ष लगाएर उच्च अदालत र सर्वोच्च अदालतमा आउनु पर्ने, न्यायधीशको ढोका चार्नु पर्ने, कर्मचारीलाई नमस्कार गर्नु पर्ने अवस्था छ । त्यसैले पालिकाको न्यायीक समितिलाई स्थानीय अदालत बनाउने हो भने धेरै मुद्धा त्यही टुंगीन्छन् । प्रदेशको न्यायीक समितिलाई कर्मचारी भर्ना गर्न दिने छिटो छिटो काम गर्ने व्यवस्था गर्नु पर्ने थियो । तर संघीयता लागु भएको यति लामो समय हुँदा पनि ऐन कानून बनेका छैनन् । बनेका कानूनमा पनि संघीय कानून अनुरुप हुने छ भने उल्लेख छ । न्याय सेवालाई जनमैत्री बनाउने हो भने स्थानीय अदालत बनाई त्यसलाई क्रियाशील बनाउनु पर्छ । त्यसमा पनि चित्त नबुझे सिधैं उच्च अदालत आउने वातावरण बनाउनुपर्छ । जिल्ला अदालतको काम छैन । अहिले त न्यायको व्यापार गर्ने पसलहरु छन् । ति पसलहरु बन्द हुँदा साथ नागरीकले न्यायको महसुस गर्ने छन् । स्थानीय अदालत बनाउने पुनराबेदन उच्च अदालतमा गर्ने त्यसमा चित्त नबुझे सर्वोच्चमा जान्छन् । स्थानीय तहमा धेरै मुद्दा पनि छैनन् । जति मुद्धा छन् । ति शासक प्रशासकले जन्माएका मुद्धा छन् । साधारण चोरी,ड्रग, बालविवाहका मुद्धा छन् । त्यस्तै बालविवाहका कारण भएका बलात्कारका मुद्धा छन् । गम्भीर प्रकृतिका अपराधीक मुद्धा छैनन् । डाका मुद्धा धेरै कम छन् । अहिले जति प्रदेशमा प्रहरीको पनि जरुरी छैन । हरेक नगरपालिकामा ३० करोड भन्दा बढीको बजेट छ । सबै तिर ३, ३ करोड खर्च गरेर शिशि टिभी राखिदियो भने अहिले जति प्रहरी चाहिदैन । दलित बस्तीमा बत्ती जडान गरिदियो भने अपराधका घटना कम हुन्छन् । अहिले पूवार्धारका क्षेत्रमा पनि राम्रो रिजल्ट आएको छैन । यो समस्या केन्द्रले गर्दा आएको हो । तर जनताले गाली गर्दा स्थानीय तह र प्रदेशलाई गाली गर्दछन् ।

छिटो र निष्पक्ष न्याय पाउने वातावरण बनाउन के गर्नु पर्ला ?

अहिले त ४ केजी चामलले सय जनालाई भात खुवाऊ भने जस्तोछ । सर्वोच्च मा ५ हजार मुद्धा छन् । तर न्यायधीश २१ जना मात्र छन् । यी ५ हजार मुद्धामा ४ हजार जति त स्थानीय अदालत भए त्यही बाट टुंगाउने खालका छन् । बाँकी हजारमा ५ सय उच्च अदालतबाट हेर्दा हुने खालका छन् । यसो गर्दा सर्वोच्चमा ५ सय मात्र मुद्धा हुने थिए । तर अहिले त ऐनको व्यवस्था नै १ वर्ष भन्दा बढी कैद सजाय हुने मुद्धा अदालतले मात्र हेर्ने भन्ने छ । पहिला खरखजना ऐन, शान्ति सुरक्षा ऐन थिए । जहाँ अर्धन्यायीक निकायलाई पनि अधिकार दिएको थियो । अहिले त अदालतका माथिल्लो तहमा बसेका न्यायधीशले मेरोमा आउनै पर्छ भन्ने खालको छ । एक फिट जमीनकोलागि झगडा भएको हुन्छ । तर त्यसको निम्ति पनि स्र्वोच्चमै आउनु पर्ने अवस्था छ । यस्ता मुद्धा त स्थानीय अदालत बाटै टुंगाउनै व्यवस्था भए छिटो हुने थियो । अर्को थाहा पाएको, भए गरेको, म्याद पाएको आदि विभिन्न शब्दजाल बुन्दै त्यसमा ३५ दिन दिने थप ३५ दिन थाम्न पाउने व्यवस्था छन् । जसले गर्दा छिटो छरिदो न्याय भएको छैन । त्यस्तो व्यवस्था छ । जहाँ सबै काठमाडौं आउनै पर्छ भन्ने भएपछि कसरी छिटो हुन्छ । शासकको मानसिकता तिम्रो गाउँमा न्याय दिने मान्छे छैन । न्याय पाउन काठमाडौं आऊ भन्ने खालको सोंच छ । अहिले पाँच हजार भ्रष्टाचार गर्यो भने जागीर छोडेपछि पनि पाँच वर्ष धाउनु पर्ने अवस्था छ । जागीर
सकिन्छ । मुद्धा सकिदैन । विशेष अदालतको मा अपिल जान नपाउने भने जस्तै तलै स्पेशल अदालत बनाएर त्यही टुंगाउने व्यवस्था गर्नुपर्दछ । अहिले डण्डात्मक न्याय प्रणाली छ । त्यसको ठाउँमा सुधारात्मक न्याय प्रणाली भयो भने छिटो छरितो न्याय पाउने अवस्था हुन्छ ।

अहिले प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमाले बीच गठबन्धन गरेर सरकार बनाउने समयमा संविधान संशोधन गर्ने सहमति पनि भएको छ । एक जना कानूनबिद्को हैसियतले के भन्नु हुन्छ ?

संविधान संशोधन जरुरी छ । किनकि संविधान जारी गर्ने बेलामा संसदमा ९० प्रतिशत भन्दा बढी मत संविधान पारित गर्ने पक्षमा भए पनि आम जनताको कुरा गर्ने हो भने ५३ प्रतिशत जनता यसको विरुद्धमा थिए । सम्पूर्ण मधेशले संविधान जारी गर्ने बेलामा विरोध गरेको थियो । जहाँ ५३ प्रतिशत जनता छन् । मेरो कुरा गर्नु हुन्छ भने दोस्रो संविधान सभाको चुनावनै वैध छैन । यो बंगलादेशमा शेख हसिनाले गरेको चुनाव जस्तै खिलराज रेग्मीलाई बुख्याचा बनाएर गरेको चुनाव हो । जनतामा संविधान सभाको रापताप हटेपछि अदालतको निर्देशनमा भएको चुनाव हो । चुनावबाट आएको संविधान सभाले मधेशका जनताले विरोध गर्दागर्दै संविधान जारी गरेको हो । मधेशका जनताले मेची महाकाली मावन सांङलो बनाएर त्यसको विरोध गरे त्यो ऐतिहासिक विरोध थियो । त्यस्तै निर्वाचन क्षेत्रको बाँडफाँड पनि उचित छैन । जुम्लामा ५ हजार मत ल्याई सांसद बन्छन् । मधेशका कयौं जिल्लामा लाख भन्दा बढी मत ल्याउनु पर्ने हुन्छ । न्यायलयको कुरा गर्ने हो भने पनि पुरै योजनामा चलेको छ । १५ वर्ष पछि प्रधान न्यायधीश को बन्छ अहिले नै प्रष्ट छ । त्यसेले म भन्छु संविधानमा संशोधन होइन पुनरलेखन गर्नुपर्दछ । अहिले अमेरिकन एलोप्याथिक सिस्टममा लग्ने प्रयास हुदैछ जुन विगत ४० वर्ष देखि भएको खेल हो । त्यो जारी छ त्यसै गरी साना दललाई आउन नदिने अमेरिका र बेलायतमा जस्तै दुई पाटी सिस्टम बनाउने खेल पनि चल्दै छ रे । यो संविधानको भावना विपरित हो । यो संविधानको विशेषता भनेको यसले समावेशीता र समानुपातिकलाई आत्मा सात गर्दछ यसलाई खत्तम पार्न खोजिदैछ रे । समावेशीता र समानुपातिक मधेश आन्दोलन, जनयुद्ध आदिबासी जनजाति आन्दोलनको उपज हो । यदि संविधान संशोधन गर्ने हो भने पहिला यी आन्दोलनको भावना बुझेका व्यक्ति सामेल भएको अध्ययन समिति बनाउने त्यो अध्ययन समितिले तयार पारेको रिर्पोट विज्ञहरुको आयोग बनाएर संविधान परिर्माजन गर्नुपर्छ । प्राप्त उपलब्धीलाई उटाउने गरी होइन ।

सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पनि चर्चामा पनि छ नी ?
यो त १० वर्ष पहिला बन्नु पर्ने ऐन हो । तर आन्दोलनकारीलाई तर्साउन अहिलेसम्म बनाएनन् । यसको विधेयक २०६९मै बनेको हो । अध्यादेश पेश भएको हो । तर आइएनजिओ र एनजिओको खेल विदेशी आयोगहरुको खेलले अहिलेसम्म बन्न दिएनन । धेरै चलखेल भयो । अब द्वन्द्वको घाउ धेरै पालेर राख्नु हुन्न राज्यले कसलाई क्षर्तिपूर्ति दिने हो वा मेलमिलाप गराउने हो के गरेर हुन्छ । समस्या समाधान गर्नुपर्छ । घाउ राखि राख्नु हुँदैन । सबै पक्षलाई जीतको अनुभूति हुने गरी ऐन बनाउनु पर्छ ।