प्रहरी सेवामा नवर्निमित भवनले नागररिकको हितमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ–गृहमन्त्री रमेश

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन तथा भान्साघरको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरेका छन् साथै उनले उक्त नवनिर्मित भवनहरूको अवलोकन तथा कार्यालय परिसरमा वृक्षारोपण समेत गरे ।कार्यक्रममा गृहमन्त्री लेखकले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा–पत्र समेत प्रदान गरे ।


उक्त अवसरमा गृहमन्त्री लेखकले शान्ति सुरक्षा, अमन चयन कायम गर्नु एवम् अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण नेपाल प्रहरीको प्रमुख कर्तव्य रहेको उल्लेख गर्दै नागरिकले प्राप्त गर्ने प्रहरी सेवामा नवर्निमित भवनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । नेपाल प्रहरीले सीमित स्रोत साधनका वावजूद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै उहाँले नागरिकका समस्यालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।


कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कानून कार्यान्वयन गर्ने प्रमुख निकायको रूपमा रहेको नेपाल प्रहरीका अधिकांश भौतिक संरचनाहरूलाई समय सापेक्ष परिवर्तन र विकास गर्दै लैजाने योजना बमोजिम भवन निर्माणका कार्यहरूलाई उच्च प्राथमिकतामा राखेको बताए । सम्पूर्ण नागरिकहरूले गुणस्तरीय एवम् व्यावसायिक प्रहरी सेवा प्राप्त गर्न पाउन् भन्ने मुख्य उद्देश्यका साथ नेपाल प्रहरीको पूर्वाधारहरू विकसित गर्दै लैजानेमा उनले जोड दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, भिमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई। चिरन्जिवी महत्तोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल सरकारको बिनियोजित बजेटबाट कुल १३ करोड २६ लाख ६५ हजार ३ सय ३६ रूपैयाँ लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष, सुरक्षा निकायका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष लगायत पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजिवि, अमर प्रहरी परिवार, समाज सेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

यसैगरी गृहमन्त्री रमेश लेखकले इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक तथा भान्साघर लगायतका भवनहरूको समेत बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गरे । साथै उनले उक्त नवनिर्मित भवनहरूको अवलोकन समेत गरे ।

नेपाल सरकारको बिनियोजित बजेटबाट कुल ४ करोड ५२ लाख ८९ हजार ४ रूपैयाँ ३७ पैसा लागतमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको नवनिर्मित भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो ।