खजुरा बाँके, नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीमा वित्तीय सुशासन कायम गर्ने उद्देश्यले सहकारी लेखापालन तालिम दिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको सहकारी शाखाद्वारा सातदिने तालिम दिइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको नियमन क्षेत्रभित्रका ४० वटा सहकारीका ४० जना लेखा कर्मचारीलाई तालिम प्रदान गरिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताउनुभयो । आज यहाँ तालिमको समापन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले आर्थिक कारोबारमा अभिलेख चुस्तदुरुस्त हुनुपर्ने भन्दै राम्रो काम गर्नेलाई सम्मान र हिनामिनासहितको गलत गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो । उहाँले सहकारी सुधारका लागि अनुगमनलाई प्रभावकारी बनाइने जानकारी गराउनुभयो । उपमहानगरपालिकाका आर्थिक विकास समिति संयोजक गोपाल पुनले सहकारीको लेखा पाटोलाई व्यवस्थित बनाउन तालिम लाभदायी हुने विश्वास व्यक्त गर्दै तालिमले आत्मबल बढाउने बताउनुभयो । पुनले सहकारी राज्यको अर्थतन्त्रको महत्वपूर्ण खम्बा भएकाले यसप्रति जनविश्वास बढ्ने गरी काम गर्न जरुरी रहेकामा जोड दिनुभयो । जिल्ला सहकारी सङ्घका प्रबन्ध सञ्चालक एवं तालिमका प्रशिक्षक नवराज उपाध्यायले संस्थागत सुशासनका लागि सञ्चालित तालिम महत्वपूर्ण कदम भएको बताउनुभयो । त्यसअवसरमा प्रशिक्षार्थी श्रीराम पाल र चन्द्रा आचार्यले तालिम फलदायी भएको बताउँदै लेखा चुस्तदुरुस्त राख्न अझ सहज हुने सुनाउनुभयो । सहकारीको वित्तीय सुशासन कायम गर्ने, पछिल्लो समय गुम्दै गएको सहकारीप्रतिको विश्वास पुन:जागृत गर्ने, लेखा व्यवस्थित राख्न सहयोग गर्ने तथा नयाँ सहकारीलाई लेखा व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सहकारी शाखा प्रमुख रानाले बताउनुभयो । तालिममा उपमहानगरपालिकाका लेखा अधिकृत राजनकुमार केसी, सहकारी शाखा प्रमुख राना, जिल्ला सहकारी सङ्घ बाँकेका प्रबन्ध सञ्चालक उपाध्याय नेफ्स्कुन बाँकेका कार्यालय प्रमुख छत्रप्रसाद धमलाले प्रशिक्षण दिनुभएको थियो ।