२००७ सालदेखि बन्द भएको पर्वतको महाशिला गाउँपालिका–६ फलाम खानी उत्खनन नहुँदा स्थानीय निराश भएका छन् । बन्द भएको ७३ वर्ष लामो अवधिसम्म राज्यका कुनै पनि निकायले फलाम खानी सञ्चालनका लागि चासो नदेखाएको स्थानीयको गुनासो छ ।
विगत तीन वर्षअघि खानी तथा भूगर्भ विभाग लैनचौर काठमाडौँको टोलीले खानीको उत्खनन गर्न प्रक्रिया सुरु गरेको भए पनि अध्ययन अनुसन्धान मात्रै गरेर फर्किएको थियो । भूगर्भविद्ले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)का माध्यमबाट अध्ययन गर्दा प्रशस्त फलाम रहेको र फलामखानीमा दुई किमी लम्बाइमा खानी फैलिएको बताइएको छ । तरपनि पटकपटक फलाम खानीको उत्खननको माग गर्दा कतैबाट तदारुकता नदेखाएपछि स्थानीय निराश भएका हुन् । केन्द्र सरकार, प्रदेश सरकारसँग उत्खननको माग गरे पनि नीति तथा कार्यक्रममा चर्चा हुने तर बजेट विनियोजन नहुने समस्या भएको स्थानीयले बताए ।
धुवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीस्थित नेपाल पर्वत खनिज उद्योगबीच २०६७ पुस ८ गते सम्झौता पनि भएको थियो । उक्त कम्पनीले लामो समय चासो नदेखाएपछि विभागले नै अध्ययन गरे पनि अन्य प्रक्रिया भने सुरु नभएको स्थानीय बताउछन् । उक्त फलाम खानी सदरमुकाम कुश्मा बजारबाट ४० किमी टाढा छ । महाशिलाको वडा नं.५ लुङ्खुदेउराली र वडा नं.६ फलाम खानी क्षेत्रमा फैलिएको यो खानीको विस्तृत सर्वेक्षण गरी उत्खनन गर्न लामो समयदेखि स्थानीयले माग गर्दै आएका छन् ।



















