skip this वडा नं १६ बालाजु च:मती

धर्म, संस्कृति र संस्कार–दुई

  • अच्युतप्रसाद पौडेल ‘चिन्तन’

प्रकृतिले यथास्थितिमा प्रदत्त विषय प्राकृत हो भने प्रकृतिको ईश्वरीय कृतिमा निर्मित मानवले प्रकृतिप्रदत्त विषयवस्तुलाई आफू अनुकूल प्रयोग, हित हुनेगरी संस्कृत गर्‍यो, संस्कार गर्‍यो, काँटछाँट गर्‍यो, परिष्कार गर्‍यो, परिमार्जन गर्‍यो, संशोधन गर्‍यो । उदाहरणका लागि भनौं काठलाई संस्कार गर्‍यो, आफ्नो अनुकूल फर्निचर आदि, माटोढुङ्गालाई संस्कृत/संस्कार गर्‍यो घर, भवन आदि, अन्नफलआफूलाई संस्कार गर्‍यो–भण्डारणदेखि जीवनयापनसम्म आदि, कुटानी पिसानी, गोडमेलदेखि तोड्नेफोड्ने यावत क्रियाकलापबाट वस्तुहरुलाई परिष्कृत गरियो, परिमार्जित गरियो, संस्कृत गरियो, त्यतिमात्र होइन प्रकृतिप्रदत्त झर्ना, ताल, कुवा, नदी आदिलाई पर्यावरण, वातावरणदेखि जलविद्युतगृह र जीवन उपयोगी दृश्यसम्ममा प्रयोग भयो । मानवमा भएको दिव्य वैज्ञानिक चेतनशक्ति प्रयोग गरेर मानव आफैं सुविधासम्पन्न, सुसंस्कृतसमेत भयो ।

संस्कृतसाहित्यमा ‘संस्कार’ शब्द यत्रतत्र प्रयोग भएको देखिन्छ । मीमांसकहरुले संस्कारलाई विधिवत् शुद्धि गर्नु भन्ने अर्थमा लिन्छन् । अद्वेतवादीहरु जीवमा हुने शारीरिक क्रिया वा शुद्धिलाई संस्कार भन्छन् । तर्कसंग्रहमा संस्कार भन्नाले स्मरणशक्तिमा पर्ने प्रभाव बुझिन्छ । वैशेषिक दर्शनले मानिसका २४ गुणलाई संस्कारका रुपमा बताएको नीतिज्ञहरु भन्छन्–शुद्धक्रिया र शुद्धविचार एवं शुद्धभावना संस्कार हो । मनुस्मृतिले संस्कार भनेको–गर्भाधानदेखि सम्पूर्ण वैदिकर्मालाई संस्कार भनेको छ । कर्मकाण्डले मन्त्रोच्चारण गरी गरिने शुभकार्यलाई संस्कार भनेको छ । व्यासगुरुले संस्कार भनेको शारीरिक शुद्धि क्रिया भन्नुभएको छ ।

साहित्यकारहरुको दृष्टिमा संस्कार भनेको मानवीय विचारलाई प्रकट गर्ने सामथ्र्य नै संस्कार हो । संस्कृतसाहित्यमा प्रयोग भएका शब्दहरु संस्कारका अर्थमा–स्वभाव, क्रिया, छाप, प्रभाव, स्मरण, शुद्धिक्रिया, धार्मिकविधान, विचार, भावना, धारणा, संस्करण, सौजन्य, शोभा, पूर्णता, शिक्षा, संस्कृति, विलक्षणा जे देखिए पनि शुद्धिका लागि गरिने धार्मिक क्रियाकर्महरु नै संस्कार भन्न सकिने देखिन्छ । व्यक्तिका शारीरिक, मानसिक, आत्मशुद्धिका लागि परम्परादेखि गरिदै आएका शुभकार्यहरुलाई संस्कार भन्न सकिन्छ । सुरुमा जेसुकै विषयवस्तु पनि सभ्य र सुसंस्कृत हुन्न । पछि क्रमश: संस्कार गर्दै गएपछि सभ्य, सुसंस्कृत र परिष्कृत बन्न सक्छ । जेहोस् मानव उदय गर्भाधान संंस्कारदेखि मृत्युपछिसम्म गरिने वैदिक सनातनीहरुमा धेरैसंस्कारहरु रहेकाछन् । गर्भाधानसंस्कार, पूंसवन, सीमन्तोनयन, जातकर्म, अन्नप्राशन, कर्णभेद, चूडा, उपनयन, वेदारम्भ, समावर्तन बिबाहदेखि मृत्युपर्यन्त र त्यसपछि सम्मका कार्यहरु ।

धर्म र नामकरण संस्कार

शिशुले आमाको गर्भ प्रवेशपूर्व नै गर्भाधान संस्कार गर्नुपर्ने विधान भए पनि यसलाई त्यत्ति चल्तीमा ल्याएको पाइन्न । स्त्री रजस्वलापछि ४, ६, ८, १०, १२, १४, १६ अर्थात् जोररात्रिको गर्भाधानबाट पुत्रको उदय र ५,७, … १५ आदि बिजोररात्रिको गर्भाधानबाट पुत्रीको उदय हुने कुरा धर्मशास्त्रहरुमा वर्णित छ । दशमास पूर्ण गरी जन्मिएको शिशुलाई संस्कार कार्यअन्तर्गत नामकरण गरिन्छ । बच्चा जन्मिएको १० दिनसम्म सूतक लाग्ने र ११औं दिन न्वारन (हवनादि नामकरण कार्य) पछि शुद्ध हुने चलन छ । नामकर्म संस्कारमा जन्मबेला, समय, नक्षत्रहेरी कुलाचार अनुसार बाबु एवं गुरु पुरोहितबाट यज्ञादि कार्यसम्पन्न गरी नामकरण संस्कार पूरा गरिन्छ । इष्टदेव, कुलदेव, पितृदेव, नान्दीमुखीश्राद्ध आदि विधानले गरिन्छ । वर्णभेदअनुसार क्षेत्रिय भए १६ दिनमा, वैश्य भए २० दिनमा, शूद्र भए २२ दिनमा नामकरण गर्ने विधान भए पनि सबैवर्णलाई सजिलो होस् भनी ब्राह्मण कार्यअनुसार जन्मेको ११ दिनमा न्वारनकार्य सम्पन्न गर्न सकिने विधान छ ।

नामकरण गर्नुको अर्थ उसको त्यसकुलमा परिचय हो र दिन, मास, ऋतु, सम्बत्सर, सूर्य आदिबाट आशीर्वाद र अमृततत्व प्राप्तितर्फ तिमी अग्रसर होऊ भनी अग्निदेवलाई साक्षी राखी यज्ञको विधिले न्वारनकार्य गरी गहुँतआदि खाएर सूतक चोख्याउनेसमेत कार्य गरिन्छ । नामकर्मबाट शिशुले आयु, बल, तेज प्राप्त गर्ने सांसारिक, व्यावहारिक सिद्धितर्फ उन्मुख हुने र धर्मचतुष्ठय–धर्म, अर्थ, काम, मोक्ष प्राप्तिका चरणहरुमा प्रविष्ट हुने हुन्छ । नामबाट नै व्यक्तिले कीर्ति पनि प्राप्त गर्ने हुनाले कुल परम्पराअनुसार नाम राख्ने चलन हाम्रो संस्कार आदीमकालदेखि नै प्रचलनमा आएको देखिन्छ ।

नामाकरण कार्यमा भद्रा विचार गर्नुपर्ने, ११ दिन भए पनि औशी, सक्रान्ति, भद्रा, व्यतिपात, वैधृतियोगमा नामकरण निषेध भएको कुरा धर्मसिन्धुले उल्लेख गरेको छ । त्यस्ते अपराह्न र रात्रिसमय पनि निषेध छ । संस्कार र शव्दले नै शुद्धि या पवित्रता भन्ने वुझिनेहुँदा मातापिताको रजवीर्यको संयोगले बनेको पिण्ड मानवदेहलाई विस्तारै त्यो मलिनताबाट, मलबाट शुद्धि गर्दै ल्याउनुपर्छ । शुभकर्मका लागि योग्य वनाउने क्रममा १६ संस्कारलाई मुख्य मानिएको हो । गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, अन्नप्राशन कार्य वीर्यदोषका निवारक हुन् । चूडा, ब्रतबन्ध, बिबाह भने आफ्नो सामाजिकयोग्यता र प्रतिष्ठा कायम राख्न सहायक सिद्ध हुन्छन् ।

धर्म र अन्नप्राशन संस्कार

अन्नप्राशनको सामान्य अर्थ शिशुलाई पहिलोपल्ट भात खुवाउने कार्यलाई भनिन्छ । त्यसो त अन्नप्राशन गिलो र सजिलो खाना शिशुले दाँत नउम्रिकनै पनि खाइरहेको हुन्छ । पास्नी शब्द प्राशनबाटै अपभ्रंश भएको हुनुपर्छ । अन्नप्राशन गर्ने समय छोराको भए छैठौंँमहिना र छोरीको भए पाँचौँ महिना तोकिएको छ । यो हाम्रो संस्कारगत मान्यता हो । आमाको गर्भमा रहँदा शिशुले फोहोर खाना पनि खाएको हुन्छ । त्यसपछि पनि खानाको संस्कार शुद्ध र परिस्कृत भएको होस् भनी अन्नप्राशनको आरम्भ गरिएको हुनपर्छ । अन्नप्राशन गर्दा वैदिकयज्ञदेखि नान्दीश्राद्ध, पितृस्मरण गर्नुपर्ने हुन्छ । दाँत निस्केपछि सामान्यतया अन्नको अधिकारी हुने र यसक्रमले हेर्दा अन्नप्राशनको समय १ वर्षसम्म गर्न सकिने कुरा नारदपुराणमा उल्लेख छ । पाचनशक्तिको क्षमता आमाको स्वास्थ्यको स्थिति हेरेर यो भन्दा घटाउन, बढाउन पनि सकिने देखिन्छ । जुनमहिनामा गरेपनि विशेष साइत जुराई छोराको भए जोर र छोरीको भए बिजोर महिनामा गर्नु उत्तम हुन्छ ।

अन्न जीवात्माको रक्षक हो । अन्नद्वारा बालकको बल, बुद्धि, तुष्टि, पुष्टि होस् भनी अन्नप्राशन गराइन्छ । आयुवृद्धि र अन्त:करण शुद्धि गर्ने अन्नमा ब्रह्मभाव हुन्छ त्यसबाट मनमा ब्रह्मभाव वृद्धि होस् भनी कामना गरिन्छ । अन्नप्राशनमा गोरससहित मिष्ठान्नहरु हुन्छन् । पिता, माता, गुरुद्वारा अन्नप्राशन गराइन्छ । अन्नप्राशनका बेला जीविकाका प्रतीक सरस्वतीका चिह्नहरु पुस्तक, कलम, कागज, भाँडाकुँडा, सुन, चाँदीदेखि धन, हतियार आदि राख्दा बालकले जुन सामग्री पहिलो स्पर्श गर्छ त्यसैबाट उसले जीविकोपार्जन गर्छ भन्ने संकेतसमेत मिल्ने कुरा मुहुर्तचिन्तामणिले दिएको छ । शुभमुहुर्तमा वैदिकमन्त्र उच्चारणसहित प्राशन गराइएको अन्नबाट शिशुको शारीरिक एवं मानसिक तेज वृद्धि हुने विश्वासका साथ विधिपूर्वक यसो गर्ने संस्कार सुरु भएको हो ।

पुत्रको भए आठौँ महिना र पुत्रीको भए सातौँ महिनामा पनि नक्षत्र, स्थान, शुद्धिगरि अन्नप्राशन गर्न हुने र पहिले कोबाट प्राशन गराउने भन्ने सम्वन्धमा घरतिर या मावलीतिरकी हजुरआमाबाट सम्भवभएसम्म प्राशन सुरु गर्ने र क्रमश: अन्यले सुरु गर्ने परम्परा रहेको छ । धर्मसिन्धु, कर्णवेधप्रकरणले शिशुको कर्णवेध (कान छेड्ने) सकेसम्म जन्ममहिनामा निषेध भए पनि जन्म महिनाको १०, १२, १६औँ दिन शुभ मानेको छ । समवर्षमा निषेध छ ।