लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण गरेको छ । एक्सपिडीसनले सोमबार साँझ पत्रकार सम्मेलन गरी नेपालको तराईबाट हिमाली क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिएको जानकारी दिएको हो ।
कार्यक्रममा एक्सपिडीसनका अध्यक्ष राजन सिंखडाले नेपालको तराईको भूभागबाट पहाडी भूभाग हुँदै हिमाली भूभागलाई देश विदेशसम्म चिनाउने उद्देश्यले नयाँ पदमार्गको अध्ययन गरिएको जानकारी दिए । उनले भने, ‘हामीले पदमार्ग भन्नेबित्तिकै हिमाली क्षेत्रमात्र भन्ने बुझ्छौँ, तराईबाट हिमालसम्मको धर्म, संस्कृति, रीतिरिवाज, पर्यटकीय गन्तव्यको वस्तुस्थिति बुझ्नका लागि नयाँ पदमार्गको अध्ययन गरेका हौँ ।’
कपिलवस्तुको खुनुवानाकाबाट सुरु हुने उक्त पदमार्गमा तौलिहवा, कपिलवस्तु, कुदन, जगदीशपुर ताल, बुटवल, मसायम हटिया, तानसेन, आर्यभञ्ज्याङ, केलादीघाट, घिरिङ, रिसिङ, दमौली, बन्दीपुर, गोरखा, बोर्लाङ, टारीबेँसी, कटुञ्जे, मेगाङ, साल्मे, गोङ्गा, सिङ्लापास, पाङ्सिङ पास, सोम्दाङ, चिलिमे हुँदै रसुवागढीस्थित केरुङ नाका पर्दछ । समुद्र सतहबाट ६० मिटरमा रहेको खुनुवानाकाबाट सुरु हुने उक्त पदमार्ग चार हजार ८० मिटर उचाइको सिङ्लापास गरेर रसुवागढी नाका पुग्न सकिन्छ ।
नयाँ गन्तव्यको खोजीमा नेपाली टोलीसँगै अमेरिकी हाइकर माइक ओबेस्टरसमेत छन् । पत्रकार सम्मेलनमा अमेरिकी हाइकर माइकले नेपालमा धेरै घुम्नलायक ठाउँ भएको र उक्त ठाउँले आफूलाई मोहित बनाएको बताए । उक्त पदमार्ग चार सय ४० किलोमिटरको भएको र आफूलाई पदमार्ग पार गर्न १७ दिन लागेको सिंखडाले बताए । नयाँ पदमार्गलाई २० देखि २५ दिनको बनाएर अगाडि बढाउन सकिए नेपालको ग्रामीण अर्थतन्त्रमा समेत टेवा पुग्ने सिंखडाको भनाइ छ ।
नेपालको पर्यटन क्षेत्रलाई महत्व दिने सिंखडाले विगत तीन दशकभन्दा बढी समय पर्यटन क्षेत्रमा विताएका छन् । पर्यटन क्षेत्रमा क्रियाशील सिंखडाले ‘योगा टुरिजम’लाई अगाडि बढाउनुको साथै पर्यटनसम्बन्धी ‘हिँडे पुगिन्छ’ पुस्तकसमेत प्रकाशित गरेका छन् ।




















