skip this वडा नं १६ बालाजु च:मती

भारतले नेपाललाई दिने अनुदानमा वृद्धि

भारतले नेपाललाई दिने अनुदानलाई वृद्धि गरेको छ । नेपालका लागि वित्त वर्ष २०२३/२४ मा पाँच अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको भारतले आगामी वित्त वर्ष २०२४/२५ का लागि सात अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) विनियोजन गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार भारतको बजेट सार्वजनिक गरेकी हुन् ।

भारतले नेपालका लागि गत वर्ष विनियोजन गरेको अनुदान रकम संशोधन गरी ६ अर्ब ५० करोड भारु (१० अर्ब ४० करोड रुपैयाँ) पुर्याएको छ । यस वर्ष संशोधित बजेटभन्दा पनि बढेर अनुदान विनियोजन गरेको छ । वित्त वर्ष २०२२/२३ मा भारतबाट नेपालले चार अर्ब ३४ करोड भारु अनुदान प्राप्त गरेको थियो ।

त्यसैगरी, भारतले छिमेकी मुलुकमध्ये भुटानमा सबैभन्दा धेरै अनुदान तथा ऋण उपलब्ध गराउने गरेको छ । तर, वित्त वर्ष २०२४/२५ का लागि भुटानलाई दिने अनुदानमा भने कमी आएको छ । आगामी वर्ष भुटानले २० अर्ब ६८ करोड भारु पाउने छ, जसमध्ये नौ अर्ब ८९ करोड ऋण हो । गत वर्ष भुटानका लागि २४ अर्ब विनियोजन भएको थियो । जसलाई संशोधनमा २३ अर्ब ९८ करोडमा झारिएको थियो । यसमध्ये ऋणमात्र १६ अर्ब १४ करोड पुर्याइएको थियो ।

त्यस्तै, भारतले माल्दिभ्सलाई दिने अनुदान बढेको छ । भारतले वित्त वर्ष २०२४/२५ का लागि माल्दिभ्सलाई छ अर्ब भारु अनुदान दिने भएको छ । यो अघिल्ला वर्षका तुलनामा धेरै हो । वित्त वर्ष २०२३/२४ मा चार अर्ब विनियोजन भएको थियो । यसलाई संशोधन गरी सात अर्ब ७० करोड पुर्याइएको थियो । विनियोजनको तुलनामा माल्दिभ्सको अनुदान बढेको छ ।