रोमानिया पठाइदिन्छु भन्दै एक लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । काठमाडौंको सामाखुशी बस्ने सल्यान बंगाद कुपिन्डे नगरपालिका–७ घर भएका ४२ वर्षीय जगत ओली क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
जगतले एक जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई होटलमा मासिक ७० हजार तलबमा होटलमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेका थिए । पीडितबाट उक्त रकम पटकपटक लिएपछि फरार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।



















