जापान पठाइदिन्छु भन्दै दुई लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको सामाखुशी बस्ने गोरखा पालुङटार नगरपालिका–१ घर भएका ३० वर्षीय भरत भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो ।
भरतले एक जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई होटलमा मासिक एक लाख ७० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी उक्त रकम ठगी गरेका थिए । पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरी उनी फरार थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उक्त ठगी अभियोगमा उनलाई समाखुशीबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जनाएको छ ।



















