skip this वडा नं १६ बालाजु च:मती

पशुपति विकास कोषले आफ्नो जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर ट्रष्टको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यक्तिको घर तथा अन्य भौतिक संरचना हटाउने भएको छ । काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले कोससँग मिलेर त्यस्ता घर र संरचनाको सीमाङ्कनसहित खोजी गरिरहेको कोषका प्रवक्ता रेवती रमण अधिकारीले जनाए ।

उनले भने, ‘कामपाको प्राविधिक टोलीको सहयोगमा गत शुक्रबारदेखि यस्ता संरचनाको पहिचान र सिमाङ्कन सुरु गरेका छौँ, एक–दुई दिनमा यो काम सम्पन्न हुन्छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काइने छ ।’ कामपा–८ को गाँचापोखरीमा ३ रोपनी, ६ आना १ पैसा जग्गा, कामपा–३ को भगवान्स्थानमा तीन रोपनी ८ आना जग्गा र लामा पोखरी सिफलमा केही जग्गा अतिक्रमण गरी अवैध संरचना निर्माण गरेको पाइएको जनाइएको छ ।

कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्रको जग्गा अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउन कोष र र काठमाडौं महानगरपालिकालाई निर्देशन दिएका छन् । कोषको बोर्ड बैठक गत माघ १६ गते बसेको बैठकले यस सम्बन्धमा निर्णय गरेको हो ।