नवलपरासीस्थित बर्दघाट सुस्ता पश्चिममा एक सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएको छ । सुस्ता गाउँपालिका–१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका–४ का सुनचाँदी व्यवसायी ६२ वर्षीय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार बर्दघाट नगरपालिका–१६ स्थित कुकुरमारा नजिकै हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको हो । पाखुरामा गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर फेला परेको छ । गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।





















