जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ । आज बिहानदेखि बढेको अत्यधिक चिसो मौसमका कारण यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनालीमा निकै राहत पुगेको गुठीचौर गाउँपालिकाका स्थानीय बताउँछन् ।
हिउँ पर्न थालेपछि बढेको अत्यधिक जाडोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण निजी विद्यालयमा पठनपाठन बन्द भएका छन् । अहिले लगातार हिउँ परेको छ । सरकारी कार्यालय खुलेपनि सेवाग्राही सेवा लिन नआएको तिला गाउँपालिकाले जनाएको छ । जिल्लाको तापक्रम ‘माइनस’मा पुगेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।
हिउँ परेपछि सदरमुकाम खलङ्गाको बजार बन्द भएको छ । यातायातका साधन राम्रोसँग चल्न पाएका छैनन् । कृषि विकास कार्यालय जुम्लाका कृषि प्राविधिक सुष्मा बुढाका अनुसार हिमपातका कारण हिउँदे बालीलाई निकै राहत पुगेको छ । स्याउका नयाँ बिरुवा लगाउने समय पनि भएकाले हिउँ पर्दा सहज भएको उनको भनाइ छ । हिमपातपछि कर्णालीको हवाई सेवा अवरुद्ध भएको छ ।





















