skip this वडा नं १६ बालाजु च:मती

वैदेशिक रोजगारीबाट फर्केर रतन साहले फलाए रङ्गीनचङ्गीन काउली

सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् । उनले एक किलोसम्मको काउली फलाएका छन् ।

उनले भने, ‘सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेको थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाए । परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।’

सोमबार मात्र १६ किलो काउली प्रतिकिलो दुई सयका दरले बिक्री गरेको बताउँदै उनले भने, ‘यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पुर्याउनासाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ । आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।’

खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए । ‘सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ । अहिले हेरिसकेपछि मनै आनन्दित भयो’, अवलोकन गर्न आएका प्रधानाध्यापक कुशेश्वर यादवले भने । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ ।