skip this वडा नं १६ बालाजु च:मती

काठमाडौं महानगरले करिब दुई हजार सेट डस्टबिन सार्वजनिक स्थलमा राख्ने

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा करिब दुई हजार सेट(एउटा सेटमा दुई वटा बिन) डस्टबिन राख्ने भएको छ । महानगरपालिकाका अनुसार उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न एक हजार नौ सय ५० सेट डस्टबिन राख्ने भएको हो ।

महानगरपालिकाले कुहिने फोहोरका लागि हरियो र नकुहिने फोहोरका लागि रातो बिन राख्न लागेको हो । वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले उत्पादन भएकै ठाउँमा फोहोर छुट्ट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजना बमोजिम बिन राख्न लागिएको बताए । महानगरपालिकाले सबै ठाउँमा एकैपटक काम गर्दा नतिजा आउन नसक्ने भएकाले नमुनाका लागि वडा नम्बर २७ बाट वर्गीकरण भएको फोहोरमात्र संकलन गर्न थालेको उनले सुनाए ।

साथै, उनले फोहोर वर्गीकरण गर्न घरदैलो कार्यक्रममार्फत सचेत गराउने र छुट्टिएको फोहोर छुट्टाछुट्टै संकलन गर्न रङ र संकेतसहितको सवारीसाधन तयार गरिसकेको बताए । श्रेष्ठले घरघरमा फोहोर वर्गीकरण गरेजस्तै सार्वजनिक स्थलमा उत्पादन हुने फोहोरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा संकलन गर्न लागेको बताए ।