skip this वडा नं १६ बालाजु च:मती

वडाध्यक्षद्वारा बाँदर धपाउन रुख काट्न र झाडी सफा गर्न आह्वान

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं.३ र चौतारा साँगाचोकगढी नगरपालिका–११ ले बाँदरबाट बालीनाली जोगाउन रुख र झाडी काट्ने निर्णय गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.३ का वडाध्यक्ष शिवकुमार कार्कीले एक सूचना जारी गरी फागुन महिनाभित्र रुख काट्न र झाडी सुधार गर्न आह्वान गरेका हुन् ।

उनले यो काममा सहयोग पुर्याउन सबै टोल विकास समिति, वन उपभोक्ता समिति, जनप्रतिनिधि र समाजसेवीलाई अनुरोधसमेत गरेका छन् । यसअघि चौतारा साँगाचोकगढी नगरपालिका–११ ले पनि बाँदरको आतङ्क नियन्त्रण गरेर बालीनाली जोगाउन खेतबारीका रुख कटान गर्ने अभियान चलाएको छ । बाँदरलगायत वन्यजन्तु धपाउन प्रहरी परिचालन गर्दासमेत केही सीप नलागेपछि बाध्य भएर रुख कटान गर्ने अभियान चलाइएको वडाध्यक्ष रोशनराज गिरीले बताए ।

गाउँमा युवा नभएका र वृद्धवृद्धा, महिला र बालबालिकाले सबै फँडानीको काम गर्न नसक्ने गुनासो वडा कार्यालयमा आएकाले वडा कार्यालयले नै रुख काट्ने र झाडी फाँड्ने निधो गरेको उनको भनाइ छ । यसअघि पनि वडा कार्यालयले बाँदरबाट बालीनाली जोगाउन ठाउँठाउँमा जाल राखेको थियो । बँदेलबाट मकैलगायत बाली जोगाउन विद्युतीय तारबारसमेत लागाएको वडाध्यक्ष गिरीको भनाइ छ ।