उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतको निर्णयलाई चुनौती दिदैँ आज जनयुद्ध दिवस मनाउने बताएका छन् । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रुपमा मनाइने बताएका हुन् ।
मंगलबारबाट काठमाडौंमा शुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उनले यस वर्षको लागि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गर्दा अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य भएको बताए ।
उनले शान्ति प्रक्रियालाई पार गरिसकेपछि सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रुपमा मनाउने स्थिति आउन सक्ने बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिलेको उपलब्धिको रक्षा गर्नु आफूहरुको प्रमुख कार्यभार रहेको बताए ।




















